PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पुरुष फुटबल : पुलिस र प्रदेश नं. २ विजयी



पहिलोपोस्ट

पुरुष फुटबल : पुलिस र प्रदेश नं. २ विजयी

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीमा जारी पुरुष फुटबलमा विभागिय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ। यो जितसंगै सुमह ‘ख’ मा पुलिस ६ अंकसहित पहिलो स्थानमा छ।

शुक्रबार भएको खेलमा पुलिसले विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै जित निकालेको हो। यसैगरि शुक्रबार भएको अर्को खेलमा प्रदेश नं. २ ले आफनो पहिलो जित निकालेको छ। प्रदेश नं. २ ले सुदुरपश्चिमाञ्चनलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट जितसहित ३ अंक जोडेको हो।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा आर्मीका टंक बस्नेतले शुरुवातमा नै राम्रो अवसर गुमाए। उनले डिफेन्डरलाई छकाएर गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकिदिए। यसैगरि खेलको ५ औ मिनेटमा पुलिसका भरत शाहले डिबक्स बाहिरबाट गरेको प्रहार पोलमा लागेर बाहिरियो। खेलको ५० औ मिनेटमा पुलिसका रवि पासवानको क्रसमा सुमन लामाको प्रहार बारमा लागेर बाहिरियो।

पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरेका थिए। निक्कै प्रतिस्पर्धात्मक खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत लामाले गोल गरेका थिए। डिबक्सभित्र गोलको राम्रो अवसर पाएमा पुलिसका नीर कुमार राईलाई आर्मीका विकास खवासले लडाएपछि पाएको पेनाल्टीमा लामाले आकर्षण गोल गरेका थिए। यसअघि पहेलो कार्ड पाएका खवास दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्मी १० खेलाडीमा समेटिएको थियो।

प्रतियोगितामा दुई खेल खेल्दै एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल गोल अन्तरको आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता लिएपनि त्यसलाई कायम गर्न नसक्दा खेलमा हार ब्यहोर्नुपरेको थियो। खेलको पहिलो मिनेटमा कमल देउवाले गोल गर्दै खेलम अग्रता लिएका थिए। उनले खेलको ७९ मिनेटमा अर्को गोल गरे। प्रदेश नं. २ को जितमा टंक सिग्देलले निर्णायक दुई गोल गरेका थिए। उनले खेलको ईन्जुरी टाईममा दुई गोल गर्न सफल भएका थिए। यसैगरि राकेश सिहले खेलको ५५ मिनेट र कृष्ण शाक्यले खेलको ७५ औ मिनेटमा गोल गरेका थिए।

शनिबार विहान त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशका बिचमा तथा दिउँसो प्रदेश नं. २ र नेपाल पुलिस क्लबका बिचमा खेल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell