नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा एकैदिन ११ नयाँ कीर्तिमान बनेको छ। शुक्रवार भारत्तोलनको पहिलो दिनका खेलहरु नेपालगन्जमा भएको थियो।
जहाँ महिलातर्फ रिता गुरुङ र संगिता राईले ३-३ कीर्तिमान बनाए। यस्तै पुरुषतर्फ तुलराम महतो र राजु चौधरीले २-२ कीर्तिमान रचे। रिता, तुलराम र राजु आर्मीका खेलाडी हुन्। भारत्तोलनमा आर्मीले पहिलो दिन ३ स्वर्ण जितेको हो।
सबै चार खेलाडीले कीर्तिमानसहित स्वर्ण जितेका हुन्। यस्तै रजत जितेका मुई लामाले पनि एक कीर्तिमान बनाए।
रिता गुरुङले महिला ४५ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र टोटल सबैमा कीर्तिमान बनाइन्। उनले स्न्याचमा ४५, कलिन एण्ड जर्कमा ५० र टोटल ९५ केजी भार बहन गरिन्।
यस्तै ५९ केजी तौल समूहमा संगिता राईले स्न्याचमा ५८, क्लिन एण्ड जर्कमा ७५ र टोटलमा १३३ केजी भार बहन गर्दै स्वर्ण जितिन्।
५५ केजी तौल समूहमा तुलरामले सन्याचमा ८० केजी र टोटलमा १७५ केजी भार बहन गर्दै दुई कीर्तिमानसहित स्वर्ण जिते। क्लिन एण्डमा जर्कमा भने उनले ९५ केजी भार बहन गरे। तर कीर्तिमान बनाउन सकेनन्।
यस्तै पुरुष ६१ केजी तौल समूहमा राजुले क्लिन एण्ड जर्कमा ११० र टोटलमा २०० केजी भार बहन गर्दै दुई कीर्तिमान बनाए। स्न्याचमा भने उनले ९० केजी भार बहन गरे।
यसै स्पर्धामा रजत जितेका मुघ लामाले स्न्याचमा ९२ केजी भार बहन गर्दै कीर्तिमान बनाए।