वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भयो। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्।
भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोड्ने पर्वहरु।
यसैबीच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ।
लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ।
यहाँ त्वरं: अजिमा (वैष्णवी टुंडाल देवी)को मूर्तिलाई खटमा राखेर तिसा: मालिगू पुखु (गहना पोखरी) मा भित्र डुबाएर परिक्रमा गराइन्छ।
ल्हुती पुन्हीका दिन टुंडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी)को मूर्तिलाई पनि टुंडालदेवी ल्याउने गरिन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ।
प्रख्यात कथा अनुसार आमा टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ।
यद्यपि हाँडीगाउँको गहना खोज्ने यसजात्रा सम्बन्धी माथि उल्लेखित कथन नयाँ रहेको बताउँछन् हाँडीगाउँ संस्कृति तथा जात्रा संरक्षण समितिका अध्यक्ष सूर्यलाल प्रजापति।
हाँडीगाउँ तत्कालिन काठमाडौंको राजधानी। मानदेवको समयमा विशालनगरका रुपमा स्थापित हालको हाँडीगाउँ काठमाडौंकै गहना रहेको बताउँछन् उनी। तर समय र बदलिँदो परिस्थितिले हाँडीगाउँको नाम जस्तै संस्कार र जात्राहरु पनि परिवर्तन भए।
द्वापर युगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन्। निकै दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरीभराउ थिए।
पूर्व वडा अध्यक्षसमेत रहेका प्रजापति तोला महारानी आफ्नो करुणका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्न समक्ष रहेको सुनाउँछन्।
तर, केहीसमयपछि उनमा सम्पतिको लोभ जाग्यो। सामान्य मानिसले गहना लगाएर हिँडदा उनको मनमा गहना लगाउने सोच पलायो। गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालिन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन्।
त्यसपछि उनमा चेत खुल्यो। जनतामाथि आफूले कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् र पश्चाताप स्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा संचालन गरेको प्रजापति बताउँछन्।
प्रजापति गहना खोज्ने जात्रामा टुंडालदेवी र भाटभटेनीको कथा नयाँ जस्तै हाँडीगाउँको नाम र कथापनि समयसँगै परिवर्तित हुँदै गएको बताउँदै भन्छन्,'समयसँगै सबै परिवर्तन भए। यस ठाउँको ऐतिहासिक नाम नर: हो। विशालनगर, हरिपुर, हण्डीग्राम, अन्दीग्राम, नर: हुँदै हाल हाँडीगाउँ भयो।'
'कहीं नभएको जात्रा हाँडीगाउँमा' - हाडीगाउँ सम्बन्धी यो उखान नेपाली नेतादेखि जनतासम्ममा प्रख्यात छ। प्रजापति भन्छन्,' नेपालमण्डलमा यो समय थुप्रै जात्रा हुन्छन्। जात्रा सकेपछि मूर्तिहरुलाई मन्दिरमा प्रतिपस्थापन गरिन्छ। तर यहाँ जात्रा तीन दिन हुन्छ तर मूर्तिलाई सात दिन समय बाहिर राखिन्छ।'
'लिच्छवीकालिन विशालनगर निकै विशाल रहेकाले धेरै दिनसम्म देवीदेवतालाई बाहिर जात्रा गरिनथ्यो। अहिले पनि सोही संस्कृति हो। यो जात्रा कुनै खास गुठी नभइ पहिलै देखि गुठी संस्थानबाट संचालन हुने हुनाले पनि यसको महत्व छ' उनले भने।
उसो त यसपाली जात्रा केही विवादित बन्यो। गहना पोखरीको बीचमा वडाले 'निओ कल्सिकल' शैलीको फाउन्टेन राख्यो। पोखरी वरिपरि बत्ती जडान गर्यो। सम्पदा प्रेमीहरुले भने यसबाट गहना पोखरीको अस्तित्व लोप हुने र जात्रामा खटलाई पोखरीमा लैजाँदा समस्या आउने तर्क गरे। उनीहरुले पोखरी निर्माणमा कंक्रिट प्रयोग गरेकोमा पनि आपत्ति जनाए।
तर वडा ५ का अध्यक्ष रमेश डंगोलले भने पोखरीको पुननिर्माण करिब १५-२० अघि नै भएकोले पोखरीको निर्माणमा हाल कंक्रिटको प्रयोगको आरोप गलत रहेको बताउँछन्। उनले पोखरीमा फाउन्टेन र बत्ती राख्ने काम मात्रै वडाले गरेको बताउँछन्।
पूर्व वडा अध्यक्ष प्रजापति पोखरीमा पानी भर्न शिवपुरी डाँडामाथिबाट पानी ल्याउने परम्परा रहेको र त्यसको कूलोको अवशेष हाल पनि रहेको बताउँछन्। त्यसपछि विस्तारै धोबीखोलाबाट पम्प गरेर र पाइप र ट्याङकरबाट सहित पानी ल्याएर पोखरीमा पानी ल्याएको उनले बताए।
'कुनैबेला उजाड बन्ने पोखरी र समयसमयमा पानी भरिरहनुपर्ने पोखरीमा हाल स्थायी रुपमा पानी रहन बोरिङको व्यवस्था गरेको त राम्रै हो।' प्रजापति भन्छन्,' पोखरीमा पानीमा तारले गर्दा केही समस्या आउने भनेर केहीले विरोध गरे। त्यो स्वभाविक पनि हो। तर अहिले भएको कार्यलाई नराम्रो भन्न मिल्दैन। यसबारे छलफल गरेर निचोड निकालिनु पर्छ।'
वडा अध्यक्ष डंगोल पोखरीलाई आकर्षक बनाउनका लागि 'वाटर प्रुफ टेक्नोलोजी' प्रयोग गरेको र जात्राका क्रममा बत्तिको लाइन बन्द गरिने बताउँछन्।
'विरोध हुनु स्वभाविक हो। मानिसहरु नबुझी प्रतिक्रिया दिन्छन्। उखानै छ कहीं नभएको जात्रा हाँडीगाउँ। त्यसैले जात्रामा रमाइलो गरौं। सबै मिलेर भव्य तरिकाले मनाऔं।'