
अभिनेताबाट नेतामा रुपान्तरित बलिउड हिरोइन उर्मिला मातोड्करले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कमेडी फिल्म बन्नुपर्ने तर्क गरेकी छिन्। सरकार प्रमुखकका हैसियतमा मोदीले केही गर्न नसकेको टिप्पणी गर्दै उनले मोदीमाथि फिल्म बन्नुपर्ने विषय नरहेको बताइन्। फिल्म बन्ने हो भने त्यो कमेडी फिल्म हुनुपर्ने उनको तर्क छ।
चुनाव लक्षित गरेर बलिउडमा यसपाला नरेन्द्र मोदीलाई फाइदा हुने गरी फिल्महरु निर्माण भए। तीमध्ये मोदीको जीवनीमा आधारित फिल्मलाई त्यहाँको निर्वाचन आयोगले प्रदर्शनमा रोक लगायो। चुनाव अघि फिल्म रिलिज हुनुपर्ने र हुन नहुने भन्ने विषयमा भारतीय समाज यतिखेर बाढिएको छ।
हालै भारतीय कांग्रेसमा प्रवेश गरेर चुनावी मैदानमा उभिएकी रङ्गिला गर्ल उर्मिलाले सत्तारुढ दलविरुद्ध कडा अभिव्यक्ति दिनेक्रममा उनीमाथि बनेको फिल्मको विषय उठाएकी हुन्।
'मोदीजीको जीवनमाथि फिल्म बन्नु भनेको प्रधानमन्त्रीमाथिको जोक हो जसले मुलुकमा डेलिवर गर्न सकेनन्,' उर्मिलाले भनेकी छिन्, 'उनीमाथि त आफ्नो प्रतिवद्धता पूरा गर्न नसक्ने नेताका रुपमा कमेडी फिल्म बन्नुपर्छ।'
फिल्म नरेन्द्र मोदीमा मुख्य भूमिका निर्वाह गरेका विवेक ओवरायले पनि उर्मिलाले जस्तै प्रतिक्रिया दिएका छन्। उनले भनेका छन् - राहुल गान्धीको बायोपिक म किन बनाउँ? उनले देशलाई के गरेका छन् र?