
दाङ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भइरहेको महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर १ भिड्ने भएको छ।
प्रदेश नम्बर १ राष्ट्रिय टिकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा खेलिरहेको छ।
दाङ लमही क्रिकेट मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको थियो।
सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नटआउट २६ र कविता जोशीले नटआउट ११ रन बनाइन्।
वलिङतर्फ प्रदेश १ का निग्मा तामाङले २, रुविना क्षेत्री, सवनम राई र संगिता राईले १-१ विकेट लिइन्।
८१ रनको लक्ष्य प्रदेश १ ले १३ दशमलव ४ ओभरमा पूरा गर्यो।
प्रदेश नं १ का तर्फबाट रुविना क्षेत्रीले नटआउट रहँदै सर्वाधिक ४३ रन बनाइन्। रोमाको थापाले नटआउट २१ रनको योग्दान गरिन्। सुदुरपश्चिम प्रदेश की कविता जोशीले २ विकेट लिइन। खेलको वुमन अफ द म्याच रुविना क्षेत्री भइन्।
यस्तै लमहीमै भएको दोस्रो सेमिफाइनलमा एपीएफले प्रदेश २ लाई ६७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो। एपीएफको लागि इन्दु बर्माले नटआउट ४१ रनको योगदान दिइन् भने ममता चौधरीले ३९ र सीता राना मगरले २६ रन जोडे। प्रदेश २ का लागि बलिङतर्फ शान्ति चौधरीले २ विकेट लिइन्।
१३७ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको प्रदेश दुईले २० ओभर पूरा खेल्दै ६९ रन मात्र बनाउन सक्यो। प्रदेश २ का लागि अनुराधा चौधरीले २२, शोभा आलेले १६ रन बनाए।
बलिङमा एपीएफकी सरिता मगरले सर्वाधिक ३ तथा सीता राना मगर र रितु कनोजियाले २-२ विकेट लिइन्। वुमन अफ द म्याच सीता राना मगर भइन्।