PahiloPost

Nov 2, 2025 | १७ कात्तिक २०८२

आठौँ राष्ट्रिय खेलकुद : प्रदेश ५ लाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मी फाइनलमा



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : प्रदेश ५ लाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मी फाइनलमा

नेपालगन्ज : विभागीय टोली त्रिभुवन आर्मी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा प्रदेश ५ लाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै आर्मी स्वर्ण पदक नजिक पुगेको हो। आर्मीले अब आजै हुने नेपाल पुलिस र एपीएफ बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ।

नेपालगन्ज रंगशालामा निर्धारत समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटतिर गएको हो। पेनाल्टी सुटआउटमा आर्मीका लागि नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे।

प्रदेश ५ का लागि कृष्ण रानाभाटले मात्र गोल गर्न सके।

आर्मीका जितेन्द्र कार्कीको प्रहार प्रदेश ५ का गोलरक्षक प्रितम खड्काले बचाएका थिए भने दीपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

यसैगरी प्रदेश ५ का दिपेन सिंह ठकुरीको प्रहार बारमा लाग्यो भने कप्तान चेतन थारुको प्रहार पोस्टमा लागेर फर्कियो। विवेक पुनको प्रहार भने आर्मीका गोलकिपर विकेश कुथुले बचाएका हुन्।

त्यसअघि निर्धारित समयमा आर्मीले पहिलो हाफमा दुई गोलको अग्रता बनाएपनि दोस्रो हाफमा विनोद केसीले चार मिनेटको अन्तरमा दुई पेनाल्टी गोल गर्दै प्रदेश ५ लाई खेलमा पर्काएका थिए।

१९औँ मिनेटमा प्रदेश ५ का दिपेन सिंह ठकुरीले आत्मघाती गोल गरेका थिए भने ३१औँ मिनेटमा आर्मीका दिप कुमार लामाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर दोस्रो हाफको ७८औँ र ८१औँ मिनेटमा प्रदेश ५ का विनोदले दुई पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेल रोमाञ्चक बनेको थियो।

जितपछि आर्मीका कप्तान भरत खवासले सबै खेलाडीको मिहेनेतले जित सम्भव भएको बताए। उनले प्रेदश ५ का खेलाडीले पनि राम्रो प्रदर्शन गरेको र भविष्यका लागि उनीहरु राम्रो खेलाडी बन्न सक्ने बताए।

यस्तै खवासले नेपालगन्ज रंगशालमा खेल्दा साँच्चिकै रंगशालमा खेलेको जस्तो अनुभव भएको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell