
काठमाडौं: 'बुलबुल' अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक बिकासराज आचार्यसँग तीन फिल्म गरिसकेकी छिन्।
'छक्का पञ्जा २', 'नाईं नभन्नु ल ५'पछि उनले बिकासराजसँग 'हजार जुनीसम्म' गरेकी छिन्। यो फिल्म प्रदर्शनको तयारीमा छ।
तीन फिल्म एकसाथ गरिसक्दा निर्देशक बिकास अभिभावक झैं लाग्न थालेको स्वस्तिमा बताउँछिन्। सेटमा बिकासले उनलाई एक छोरीलाई जस्तो व्यवहार गर्ने उनी सुनाउँछिन्।
'सेटमा झगडा पनि पर्यो। बिकास दाइले कराउनु पनि भयो। म रोएँ पनि' उनले सुनाइन्।
यो बिकासराजको १० औं फिल्म हो। हालै, एक कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले बिकासलाई रुवाउने निर्देशकको ट्याग दिइन्। उनले भनिन् 'स्वस्तिले रोएँ भनिन्। रुवाउने फिल्म बनाउने निर्देशक बिकास दाइले सेट पनि रुवाउनुपर्छ।'
उनले बिकासको निर्देशनको तारीफसमेत गरिन्।