
बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्।
बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा मंगलवार दुवैले सेमिफाइनल जित्दै स्वर्णको लागि भिडन्त पक्का गरे।
आर्मीले अर्को विभागीय टोली एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दा पुलिसले गण्डकी प्रदेशलाई ३-१ ले हरायो।
रोमाञ्चक खेलमा आर्मी १८-२५, २५-२२, ३१-३३, २५-२१, १५-११ ले विजयी भयो। यस्तै पुलिसले गण्डकी लाई २५-१५, २५-१५, २०-२५, २५-२० ले पराजित गर्यो।
फाइनल खेल बुधवार हुनेछ। यस्तै महिलातर्फको दुई सेमिफाइनल खेल आज अपरान्ह हुनेछ।