PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पुरुष क्रिकेट : एपीएफ फाइनलमा, शरदको ४ विकेट



पहिलोपोस्ट

पुरुष क्रिकेट : एपीएफ फाइनलमा, शरदको ४ विकेट

बाँके : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफले फाइनलमा स्थान बनाएको छ।

मंगलबार नेपालगन्जको कोहलपुर मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो।

५० रनको सामान्य लक्ष्य एपीएफले १०.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। एपीएफका लागि शंकर रानाले २३ तथा प्रदिप भरीले १७ रन बनाए। दुवै नटआउट रहे। ओपनरद्वय शरद भेषावकर २ र अनिल शाह ७ रन बनाएर आउट भएका थिए।

प्रदेश १ का लागि दिपेश कँडेल र कप्तान पुष्प थापाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको १ नम्बर प्रदेशले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो। प्रदेश १ का लागि ओपनरद्वय मिनास थापा र सन्नी पुनले १४-१४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश १ को इनिङस ध्वस्त पार्ने क्रममा एपीएफका शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए। यस्तै बसन्त रेग्मीले ३ विकेट लिए। शरदले ४ ओभरमा १३ रन खर्चिँदा बसन्तले ४ ओभरमा किफायती बलिङ गर्दै ८ रन मात्र खर्चिए। अभिनाश बोहरा र भुवन कार्कीले १-१ विकेट लिए।

एपीएफ  अब स्वर्णका लागि फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell