
काठमाडौं : चैत ७ गते सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा ३३ वर्षीया सुनिता विश्वकर्माको शव फेला पर्यो। धारिलो हतियार प्रहरा गरी उनको हत्या भएको थियो।
बरहथवा नगरपालिका ५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले आफ्नै श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुल्यो। मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आएकी थिइन्।
रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टा लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो। यता, श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा रहेका रामजीले भने श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन्।
राधा घर्ती मगरको घटना भने सुनिताको भन्दा फरक छ। राधा घर्ती मगरले प्रेमीको मायाजालमा फसेर आफ्नै श्रीमानको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखियो। श्रीमानको हत्या आरोपमा कपिलवस्तु, वाणगंगाकी राधालाई प्रहरीले प्रक्राउ गर्यो।
प्रेमी रुकुम निवासी रमेश विकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार उनले प्रहरीसामु गरेकी थिइन्।
पिपरा धैरनी डाँडाका धनबहादुर घर्ती मगर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बस्यालटोलामा रहेको ससुराली गएका बेला गत भदौ १३ गते ससुराली नजिकै मृत फेला परेका थिए।
हत्यापछि बोरामा हालेर खोल्सामा फालिएको अवस्थामा शव फेला पारिएको थियो। डिभर्नाको बस्याल टोलको खोल्सामा घाँस काट्ने महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरील अनुसन्धान गर्दै जाँदा श्रीमती नै फन्दामा परेकी थिइन्।
पछिल्लो समय यस्तै प्रवृत्तिका अपराध बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ। चिनजानेकै व्यक्तिबाट धेरै हत्याका घटना हुने गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्। 'हामीले केही समयमा भएका घटनाको अध्ययन गर्यौं। अधिकांश घटना चिनेजानेको र परिवारका सदस्य बीचमा नै भएको भेटियो।'
प्रहरीले ५ सयवटा घटनाको अनुसन्धान गर्दा धेरै जसो घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। पाँच सयबाट सामाजिक अपराधमध्ये १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको देखिएको छ। 'सामाजिक अपराध बढेर गएको छ। श्रीमान श्रीमती बीचको विवाद हत्यासम्म पुग्ने गरेको पनि धेरै देखियो,' एसएसपी सुबेदीले भने।
दुई महिना अगाडि पनि यस्तै घटना घट्यो। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुल्यो। कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन्। उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका थिए। सुनीललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ।
सामाजिक संजालको दुरुपयोग, बैदेशीक रोजगारीले सृजना गरेका विभिन्न परस्थिति, मादक पदार्थ सेवनका कारण सामाजिक जघन्य प्रकृतिका अपराध बढेको एसएसपी सुवेदीको दावी छ। 'श्रीमान् श्रीमतीको केसमा अबैध सम्बन्ध र तराईका जिल्लामा दाइजो प्रथाले पनि हत्यासम्मको घटना निम्त्याइएको पाइयो,' एसएसपी सुवेदीले भने।
गत कार्तिक २४ गते हत्याको अभियोगमा प्रहरीले बुटवल योगीकुटीका दुर्गा बहादुर घर्तीलाई भैरहवाबाट पक्राउ गर्यो। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ रठेपानीमा कार्तिक २२ गते श्रीमती शर्मिलाको हत्यामा उनी संलग्न भएको खुलेको थियो। बुटवलको योगीकुटी स्थायी घर भएका घर्तीले पोखरास्थित डेरामा श्रीमती शर्मिलाको हत्या गरी फरार रहेका थिए।