PahiloPost

May 14, 2024 | १ जेठ २०८१

ने क पाको जिल्ला कमिटी: ७७ जिल्लाका अध्यक्ष र सचिवमा महिला चार जनामात्रै



विधुर ढकाल

ने क पाको जिल्ला कमिटी: ७७ जिल्लाका अध्यक्ष र सचिवमा महिला चार जनामात्रै

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाले ७७ जिल्लाहरुको नेतृत्व टुंग्याएको छ। मंगलवार सार्वजनिक भएको ७७ जिल्लाका अध्यक्ष र सचिवको १५४ वटा अनुहारमध्ये ४ अनुहारमात्र महिला परेका छन्।

जसमध्ये ने क पाले तीन जिल्लामा महिला अध्यक्ष पाएको छ भने एकमा सचिव। मधु अधिकारी लमजुङकी अध्यक्ष भएकी छन्। त्यस्तै मनु सिग्देल मकवानपुर र काभ्रेपलाञ्चोककी अध्यक्षमा रुकु चौलागाई चयन भएका छन्। चौलागाई तत्कालिन नेकपा माओवादी केन्द्रकी काभ्रेपलाञ्चोक र अधिकारी लमजुङकी संयोजक थिइन।

सिग्देल भने तत्कालिन नेकपा एमालेकी जिल्ला अध्यक्ष हुन्।

त्यस्तै इलामले महिला सचिव पाएको छ। सोममाया राई ने क पाको इलाम सचिव भएकी छन्। उनी तत्कालिन माओवादी केन्द्रकी इलाम संयोजक थिइन्।

ने क पाभित्र महिला प्रतिनिधित्व कम भएको आरोप लागिरहेको बेला जिल्ला नेतृत्वमा पनि महिलाको संख्या कम भएको भन्दै आलोचना हुन थालेको छ।

संविधानले महिला सहभागितालाई ३३ प्रतिशत सुनिश्चिता गरेको बेला ने क पाको ९ सदस्यीय सचिवालयमा महिला सहभागिता शुन्य छ। त्यस्तै ४१ सदस्यीय स्थायी कमिटीमा तीन जनामात्र महिला सदस्य छन्। जसमध्ये पूर्व एमालेबाट अष्टलक्ष्मी शाक्य र पूर्व माओवादी केन्द्रबाट पम्फा भुषाल र ओनसरी घर्ती स्थायी कमिटीकी सदस्य हुन्।

त्यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना मात्र महिला रहेका छन्।

त्यस्तै सात प्रदेश कमिटीका इञ्चार्जमा एक जना मात्र महिला इञ्चार्ज रहेकी छन्। प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य बाहेक अरु सबै पुरुष नेतृत्व हुन्।

त्यस्तै सहइञ्चार्जमा प्रदेश १ मा साबित्री काफ्ले मात्र महिला हुन्। प्रदेश पाँच की अध्यक्ष ओनसरी घर्तीबाहेक अरु महिला छैनन्। त्यस्तै कुनै पनि प्रदेशका सचिवमा महिला छैनन्।

राजनीतिक दल दर्ता सम्बन्धी कानुन २०७४ को दफा १५-४ अनुसार दल दर्ता गर्दा दलको सबै तहको समितिमा एक तिहाई महिला सदस्य हुनुपर्ने व्यवस्था छ। यद्यपि यो व्यवस्था पूरा नगरी निर्वाचन आयोगले ने क पालाई दर्ता गरिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell