
बाँके : सागर ढकाल, ललित नारायण राजवंशी र नमिन सिंहथापाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३ रनले पराजित गर्दै आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ।
ब्याटिङमा दुई बल मात्र खेल्दै छक्का प्रहार गरेका सागरले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएपछि ८१ रनको लक्ष्य पछ्याएको आर्मी १८ ओभरमै ७७ रनमा अलआउट भएको हो। सागरले अन्तिम बलमा छक्का प्रहार गरेपछि पुलिसले ८० रन जोडेको थियो।
ललित र नवीन सिहंले ३-३ विकेट लिए। आर्मीका लागि कुशल मल्लले सर्वाधिक २३ रन बनाउँदा राजु रिजालले १४ र हरि कृष्ण झाले ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ६ खेलाडी खाता नखोली आउट भए।
आर्मीलाई अलआउट गर्ने क्रममा उत्कृष्ट बलिङ गरेका सागरले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए। ललितले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए। यस्तै नवीनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए।
त्यसअघि कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर ८० रन बनाएको थियो। पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक २३ रन बनाउदा बाँकी खेलाडीले दोहोरो अंक छुन सकेका थिएनन्। तर अन्तिम ओभरमा क्रिजमा पुगेका बलर सागर ढकालले अन्तिम बलमा छक्का प्रहार गर्दै टिमको स्कोर ८० बनाएका थिए। अन्त्यमा सागरको त्यो छक्का नै पुलिसको जितमा महत्वपूर्ण बन्यो।
अलराउण्ड प्रदर्शन गरेका सागर खेलको म्यान अफ दि म्याच घोषित भए।
पुलिसले अब स्वर्ण पदकका लागि फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ। समूह चरणमा एपीएफसँग हार्दै पुलिस समूह उपविजेता बनेको थियो। अब फाइनलमा एपीएफसँग बदला लिँदै स्वर्ण जित्ने अवसर पुलिस सामु छ।
यस्तै पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेट पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।