
बाँके : ओलम्पियन पौडिबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमानसहित कूल ४ स्वर्ण जितेकी छिन्।
उनले यसअघि पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन्। नेपालगन्जको होटल सिग्नेटमा भइरहेको २५ मिटरको सर्ट कोर्सको प्रतियोगितामा गौरिकाले प्रतिस्पर्धा गरेकी सबै स्पर्धामा स्वर्ण जितेकी छिन्। उनले मंगलावर महिला १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जित्दा महिला २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितिन्।
यस्तै महिला इन्डिभिजुएल मिड्ले रिलेमा पनि उपस्थि महर्जन, डुआना लामा र सोफिया शाहसँग मिलेर आर्मीलाई स्वर्ण जिताइन्।
यसैगरी पौडीको तेस्रो दिन शुभम श्रेष्ठ र अनुभव सुब्बाले पनि कीर्तिमान सहित स्वर्ण जितेका छन्। शुभमले ५० मिटर ब्रेस्टस्ट्रोक र अनुभवले १०० मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।
यस्तै एनआरएनएका प्रतिनिधित्व गरिरहेका नाथन दोर्जे शेर्पाले पनि खेलेका सबै स्पर्धामा स्वर्ण जित्ने क्रममा व्यक्तिगत चौथो स्वर्ण जितेका छन्। थानले मंगलवार पुरुष २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेका हुन्।
यसबाहेक डुआनाल लामा र गौरव लामले पनि मंगलवार एक-एक स्वर्ण जिते।
यस्तै पुरुष इन्डिभिजुएल मिड्ले रिलेमा शायद हम्जा शाह, दिपांकर अवाले, तरुण भण्डारी र गौरव लामाले नेपाल पुलिसलाई स्वर्ण दिलाए।
मंगलवार १० स्पर्धाहरु भएपछि पौडीमा कूल २६ स्पर्धा सकिएको छ र अब चौथो तथा अन्तिम दिन बुधवार ८ स्पर्धाका खेलहरु हुनेछ।