PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रत्नपार्कमा भ्युटावर बनाउने भन्दै योजना अलपत्र छाड्ने कम्पनीबाटै खुल्लामञ्चमा सलामी लिँदै सटर बिक्री



दिनेश खड्का

रत्नपार्कमा भ्युटावर बनाउने भन्दै योजना अलपत्र छाड्ने कम्पनीबाटै खुल्लामञ्चमा सलामी लिँदै सटर बिक्री

काठमाडौं: तीन वर्षअघि पूरानो बसपार्कमा भ्यूटावर बनाउने जिम्मा जलेश्वर स्वच्छन्द विकोईले पायो।

तीन वर्षअघि उपराष्ट्रपत्ति नन्दबहादुर पुनले शिलान्यास गरेको यो भ्यूटावरको एक प्रतिशत पनि काम सकेको छैन। यस कम्पनीका संचालक मनोज भेटवाल हुन्। उनी एपेक्स डेभपलमेन्ट बैंकको घोटाला काण्डमासमेत मुछिएका थिए। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको आरोपमा पक्राउ परेका थिए।

तर त्यही कम्पनीले खुलामञ्चमा बनाएको अस्थायी बसपार्कमा धमाधम सटर बनाएर बिक्री गरिरहेको छ। काठमाडौं महानगरपालिकालाई कुनै जानकारी नदिई अस्थायी बसपार्कमा अस्थायी सटर बनाएर कम्पनीले बेचिरहेको छ। सार्वजनिक जग्गामा रजगज गरिरहेको यो कम्पनीले सटर पनि सलामी लिएर बिक्री गरिरहेको छ। कम्पनीले सटर बनाएको बारे महानगरपालिका बेखबर छ।

महानगरपालिका र बसपार्कको दूरी एक किलोमिटर पनि छैंन। तर त्यही दूरीमा सटर बनाएर बिक्री गरेपछि मात्रै महानगरले जानकारी पाएको छ।‘हामीले बसपार्कमा सटर बनाइसकेपछि जानकारी पायौं। उनीहरुले भाडा समेत लगाइसकेका रहेछन्’ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने।अस्थायी बसपार्कमा करिव ४०  वटा सटर निर्माण गर्न लागेको  तथा नाङ्ला, साईकल र ठेलामा सामान बेच्नेसंग समेत पैसा असुल्ने गरेको पाईएको महानगरपालिकाले जनाएको छ ।

 ‘म आफैं अनगुमनमा गएको थिएँ। कम्पनीले अवैध पैसा उठाएको र सटर निर्माण गरिरहेको भेटिएपछि तत्कालै रोक्न निर्देशन दिएको छु।‘ उनले भने।
महानगरपालिका र कम्पनीबीच भएको सम्झौतामा अस्थायी बसपार्कमा टहरा बनाएर भाडा उठाउन पाउने उल्लेख छैन। महानगरपालिकालाई कुनै जानकारी नै नदिई कम्पनीले सटर बनाएर भाडा असुलेको हो । ‘सचिव ज्यु हुनुहुन्न उहाँ आउने वित्तिकै कारबाहीको प्रक्रिया अघि बढ्छ।‘ डंगोलले भने ।

भ्यूटावरको हालत यस्तो छ

बिसं २०७२ फागुनमा भ्युटावर निर्माणका लागि सम्झौता भएको भएपनि जमिनमुनिको पाईलिङको काम समेत ५ बर्ष  पुग्न लागिसक्दा सकिएको छैन । जस्तापाताले वरिपरि घेरेर निर्माण सामाग्री र मेसिनहरु थुपारेर बसेको छ ।

महानगरपालिकाका अनुसार भ्युटावर बनिसक्नुपर्ने भएपनि १ प्रतिशत पनि काम हुन सकेको छैन्। महानगरपालिकाले कमिटी बनाएर अध्ययन गर्ने र उक्त कमिटीले दिएको प्रतिवेदनका आधारमा अघि बढ्ने प्रवक्ता डंगोलले जानकारी दिए।

अस्थायी बसपार्क पनि बन्द


खुलामञ्चस्थित अस्थायी बसपार्क पनि मर्मत सम्भार गर्न तीन दिनका लागि बन्द गरिएको छ । तीन दिनसम्म बसपार्कमा तारबार गरी सवारीसाधन निषेध गरिएको छ ।

धुलिखेल , बनेपा,  पनौती, सिन्धुपाल्चोक, दोलखा, रामेछाप  र चरिकोट चल्ने सवारीसाधनलाईहरुलाई कोटेश्वर,सातदोबाटो, बल्खु ,कलंकी हुँदै डार्ईभर्सन गरी नयाँ बसपार्कमा रोक्ने व्यवस्था मिलाईएको छ भने काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनलाई टुँडिखेल घुमेर सम्बन्धित स्थानमा जाने व्यवस्था मिलाईएको छ । यसबाट टुडिखेल आसपास सडकमा सवारीको चापका कारण जाम बढेको छ ।

बसपार्कमा खाल्डाखुल्डी र हिलो भएपछि मंगलबार, बुधबार र बिहीबार बन्द गरेर मर्मत सम्भार र कालोपत्रे गर्न लागिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीले नै मर्मत सम्भार गर्न लागेको हो ।

अहिले भ्युटावर निर्माणाधीन स्थलमा पुरानो बसपार्क थियो । त्यहाँ भ्यूटावर बन्ने भएपछि खुल्लामञ्चमा अस्थायी बसपार्क बनाईएको हो । ‘भ्युटावर निर्माणका लागि भएको सम्झौतामा नै अस्थायी बसपार्कको मर्मत सम्भारको जिम्मा कम्पनीले गर्ने भन्ने छ,'  डंगोलले भने। 

काठमाडौं महानगरपालिकाले बसपार्कबाट टुँडिखेल वरिपरिको सडकमा गाडीको टायरले हिलो ल्याएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने अवस्था आएका कारण मर्मत सम्भार गर्न निर्देशन दिएको डंगोलले जानकारी दिए । उनका अनुसार गाडीका टायरले हिलो ल्याउँदा महानगरपालिकाले ब्रुमर रातदिन चलाएपनि सडक सफा गर्न सकेको छैन। उनले भने-‘ बसपार्कबाट निस्कने गाडीका टायर सफा हुनुपर्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell