
बाँके : प्रदेश नम्बर ५ मा आयोजना भइरहेको 'आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५-७६' अन्तर्गत १४ दिनको खेल सकिँदा ३५ मध्ये ३१ खेलको प्रतिस्पर्धा सकिएको छ।
२०७५ साल चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भने २०७६ साल बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्ज रंगशालमा गरेकी थिइन्।
समग्रमा आठौँको खेलहरु आयोजना भएको १४ दिन भइसकेको छ।
अब बुधवार केही खेलहरुको अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ भने उपराष्ट्रपति नन्द बहादुर पुनले आठौँको समापन गर्नेछन्।
५ हजार भन्दा बढी खेलाडीले ३७२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको यस आठौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा विभागीय टोलीहरुले वर्चस्व राखेका छन्।
त्यसमा पनि त्रिभुवन आर्मी १०० भन्दा बढी स्वर्ण जित्दै सबैभन्दा अगाडि छ। यो एपीएफ र पुलिसले जितेको स्वर्णको संख्या भन्दा पनि बढि हो। अब आर्मी पहिलो बन्ने पक्का छ भने एपीएफ र पुलिस दोस्रो बन्ने होडमा छन्।
मंगलवारसम्म आठौँमा समावेश ३५ मध्ये ३१ खेल सकिएका छन्।
सकिएका खेलहरुमा टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो, बक्सिङ छन्।
अब टिम गेमतर्फ चर्चित खेलहरु फुटबल, भलिबल र क्रिकेटका साथै पौडीको खेलहरु हुन बाँकी छ।
फुटबल र भलिबलको महिला- पुरुषको तथा क्रिकेटको पुरुषको फाइनल खेल हुन बाँकी छ। यस्तै पौडीको ८ स्पर्धा बुधवार हुँदैछ।
पुरुष क्रिकेटको फाइनल खेल बुधवार दिउँसो १ बजे कोहलपुर क्रिकेट मैदानमा हुनेछ। स्वर्णका लागि एपीएफ र पुलिस भिड्दैछन्। यस्तै बिहान ८ बजे तेस्रो स्थानका लागि आर्मी र प्रेदश १ बीच खेल हुनेछ।
यसैगरी पुरुष फुटबलको फाइनल खेल नेपालगन्ज रंगशालमा दिउँसो ३ बजे आर्मी र पुलिसबीच हुनेछ। त्यसअघ बिहान एपीएफ र प्रदेश ५ बीच तेस्रो स्थानको लागि हुनेछ। महिला फुटबलको फाइनल दाङको बेलझुण्डीमा हुनेछ। यसमा उपाधिका लागि एपीएफ र आर्मी भिड्नेछन्।
यस्तै भलिबलमा पुरुष र महिला दुवैतर्फको फाइनल तथा तेस्रो स्थानको खेलहरु खजुरास्थित शुक्र भलिबल कोर्टमा हुनेछ।
हालसम्म सम्पन्न खेलहरु
टेबलटेनिस, ट्रायथलन, कुस्ती, फेन्सिङ, साइक्लिङ, स्क्वास, जुडो, कबड्डी, फुल कन्ट्याक्ट कराते, बास्केटबल, गल्फ, बुद्धिचाल, लन टेनिस, हक्की, शारीरिक सुगठन, ब्याडमिन्टन, आर्चरी, जिम्न्याष्टिक, सेपाकताक्रो, एथलेटिक्स, प्याराग्लाइडिङ, भारोत्तोलन, उसु, सुटिङ, कराते, तेक्वान्दो, खो खो, ह्यान्डबल, सफ्ट टेनिस, आईटीएफ तेक्वान्दो, बक्सिङ
बाँकी खेलहरु (बुधवार सकिने)
भलिबल (पुरुष-महिला), फुटल (पुरुष-महिला), पुरुष क्रिकेट, पौडी
राष्ट्रिय खेलकुद परिषद्ले मंगलवार बेलुकासम्म उपलब्ध गराएको पदक तालिकामा बर्मी १०७ स्वर्णका साथ पहिलो स्थानमा छ। यस्तै एपीएफ ४८ स्वर्णका साथ दोस्रो र ४५ स्वर्ण जितेको पुलिस तेस्रोमा छ। प्रदेशहरु मध्ये देशको राजधानी रहेको प्रेदश नम्बर १९ स्वर्णका साथ अगाडि र समग्रमा चौथो स्थानमा छ।
पहिलो पटक सहभागिता जनाइरहेको गैर आवसिय नेपाल संघ एनआरएनएले पनि ५ स्वर्ण जितेको छ तर पदक तालिकामा ११औँ स्थान (पूछार) मा छ।