
सनराइजर्स हैदराबादलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लेको छ। ओपनर सेन वाट्सनको आक्रमक ब्याटिङको मद्दतले चेन्नाइले हैदराबादमाथि ६ विकेटको जीत हासिल गरेको हो।
चेन्नाइमा गएराति सम्पन्न खेलमा हैदराबादले दिएको १७६ रनको लक्ष्य चेन्नाइले एक बल अघि पूरा गर्यो। चेन्नाइका लागि वाट्सनले ९६ रनको योगदान दिए। उनी शतक बनाउन चार रनबाट चुके। यस्तै, सुरेश रैनाले ३८ रन जोडे।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो। हैदराबादको इनिङ्समा मनीष पाण्डेले सर्वाधिक ८३ रनको योगदान दिए। यस्तै, ओपनर डेविड वार्नरले ५७ रन जोडे। विजय शंकरले २६ रनको योगदान दिए।
बलिङतर्फ चेन्नाइका हरभजन सिंहले २ तथा दीपक चाहरले १ विकेट लिए। यस्तै, हैदराबादका भुवनेश्वर कुमार, रसिद खान र सन्दीप शर्माले एक/एक विकेट लिए।
जीतसँगै लिगको अंक तालिकामा चेन्नाइ शीर्ष स्थानमा फर्किएको छ। यसअघि समान १४/१४ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा थियो। चेन्नाइले ११ मध्ये ८ खेलमा जीत निकाल्दै १६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको दिल्लीको १४ अंक छ।