PahiloPost

May 15, 2024 | २ जेठ २०८१

राष्ट्रपति भण्डारी चीन प्रस्थान, उपराष्ट्रपति पुनलाई कार्यभार



विधुर ढकाल

राष्ट्रपति भण्डारी चीन प्रस्थान, उपराष्ट्रपति पुनलाई कार्यभार
फाइल फोटो

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीनको ९ दिने भ्रमणमा निस्किएकी छिन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारी आज विहान ११ बजे नेपाल वायु सेवा निगमको चार्टर विमानमा चीनको सियानमा तर्फ प्रस्थान गरेकी हुन्।

गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याउन लागेको हो। चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण हुन लागेको हो।

यसअघि नेपालका राष्ट्रपति चीनको भ्रमणमा गए पनि त्यतिवेलाको भ्रमण राजकीय थिएन। तत्कालिन राष्ट्रपति डा रामवरण यादव सांघाइ कोअप्रेसन र बोआओ फोरम फर एसियाको सम्मेलनमा सहभागी हुन चीन गएका थिए। तर त्यतिबेला बेइजिङले राष्ट्रपति यादवलाई स्वागत गरेको थिएन।

अहिले बीआरआई सम्मेलनको दौरानमा बेइजिङले राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ स्वागत गर्न लागेको हो।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सम्मेलनमा सहभागी हुनुका साथै सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिङपिङले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन्। त्यस्तै चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी इन्टरनेसनल हर्टिकल्चरल एक्जिबिसनको उद्घाटन समारोहमासमेत सहभागी हुने छन्। प्रदर्शनीमा नेपालले आफ्नो पवेलियनसमेत राख्ने छ।

त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सिसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले समझदारी पत्रको बारेमा खुलाएको छैन।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिइने छ। त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ उच्च नेतृत्वसँगसमेत भेट गर्नेछन्।

चीन भ्रमणका क्रममा २७ अप्रिलमा बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी हुन दूतावासले नेपाली समुदायलाई अग्रीम आवेदन दिन सूचना जारी गरिसकेको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समुदायलाई सम्बन्ध गर्ने छिन्। त्यस्तै राष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ तथा नेपाली व्यापारिक समुदायहरुको संयुक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

बेइजिङ जाने क्रममा राष्ट्रपति भण्डारी चीनको सान्छी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने छिन्। त्यस्तै नेपाल फर्कने क्रममा उनी चीन स्वशासित तिब्बतको राजधानी ल्हासाकोसमेत भ्रमण गर्ने छन्। त्यहाँ रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागि हुने छन्। राष्ट्रपति भण्डारी वैशाख १९ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्मेलनमा ३७ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुँदै छन्।

उपराष्ट्रपति पुनलाई कार्यभार

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन्। संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पदान गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell