PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

भगीरथ भैयाको चिनो, १९९० को भूकम्पमा भत्किएको भाइदेग: पुनर्निर्माण हुँदै

भगीरथ भैयाको चिनो, १९९० को भूकम्पमा भत्किएको भाइदेग: पुनर्निर्माण हुँदै

सहयोग रञ्जित/पहिलोपोस्ट


२०७२ साल वैशाख १२ गतेको भूकम्प भन्दा शक्तिशाली थियो १९९० सालको भूकम्प। त्यसबेला काठमाडौं उपत्यकामा रहेका धेरैजसो घर र मन्दिरहरु भत्किएका थिए।

१९९० सालको भूकम्पमा भत्किएका कयौं मन्दिरको पुनर्निमाण गर्ने काम राणाहरुले नै गरे। तर, केही मन्दिरहरुले आफ्नो ऐतिहासिक स्वरुप गुमाए। फलस्वरुप नयाँ पुस्तालाई ती मन्दिरको इतिहासबारे ज्ञान हुने कुरै भएन।

१९९० सालको भूकम्पमा भत्किएको तर आफ्नो मौलिक शैली गुमाएर ओझेलमा परेको मन्दिरमध्ये एक हो, पाटन दरबार क्षेत्रमा रहेको काशी विश्वनाथको प्रतीक मानिने उमामहेश्वरको मूर्ति रहेको ऐतिहासिक भाइदेग:।

१७३५ सालमा पाटनका राजा श्रीनिवास मल्लका पालामा चौतारा (प्रधानमन्त्री) रहेका भारो भगीरथ भैया (भगाजु)ले उमामहेश्वरको मूर्ति स्थापना गरी तीन तल्ले प्यागोडा शैलीको मन्दिर बनाएका थिए।

त्यस समयमा मुगल शासक औरङ्गबाजले बनारसमा आक्रमण गरी काशी विश्वनाथ मन्दिर भत्काइदिएका थिए। नेपालीहरुले समेत पवित्र तीर्थस्थलका रुपमा काशी विश्वनाथलाई पुज्दै आएका थिए। तर, मुगलहरुले मन्दिर भत्काइदिएपछि नेपालीहरु काशी जान पाएनन्। त्यसैले भगीरथ भैयाले काशीमा भएको आक्रमणको ९ वर्षपछि त्यसैको प्रतीकात्मक रुपमा पाटनमा वनारसको काशी विश्वनाथ मन्दिर स्थापना गरे।

भगीरथ भैयाले स्थापना गरेका हुनाले सो मन्दिरलाई 'भाइदेग:' भनियो।

भाइदेग: मल्लकालीन काष्ठकलाको उत्कृष्ट नमूना थियो। त्यसमा प्रयोग भएका बुट्टा र काठको बनोट अन्य मन्दिरभन्दा फरक थिए। तर, १९९० सालको भूकम्पले भगीरथको चिनो भाइदेग: भत्कियो।

राणा शासकहरुले भूकम्पमा भत्किएका धेरै सम्पदाहरुको पुनर्निर्माण गरे। तर, उनीहरुले त्यसलाई पुरातात्विक मल्लकालीन शैलीमा ढाल्ने प्रयत्न गरेनन्।

त्यसको ज्वलन्त उदाहरहण बनिरह्यो – भाइदेग:।

राणाहरुले मन्दिरभित्र रहेको उमामहेश्वरको मूर्तिलाई जगेर्ना गर्ने नाममा तीन तल्ले प्यागोडा शैलीको मन्दिरको साटो मुगलहरुको गुम्बज (डोम) शैलीमा मन्दिर बनाए।

त्यस्तै, शिखर शैलीमा बनेको रानी पोखरीलाई राणाहरुले नै भूकम्पपछि डोम शैलीमा परिणत गरेका थिए। हाल रानी पोखरी पनि आफ्नो वास्तविक शिखर शैलीमा पुनर्निर्माण हुँदैछ।

१९९० मा भाइदेग: ढले पनि भूकम्पमा बाँकी रहेका भाइदेग:का संरचनाहरु (जस्तै पुराना टुँडाल,घण्ट आकारको छानो, खम्बा)हरु संग्रह गरी राखिएका थिए। तर, भत्किएको मन्दिरको तस्बिर थिएन। राणाकालमा खिचिएका तस्बिरहरुमा भाइदेग: को प्यागोडा शैली मन्दिर कत्तै देखिएको थिएन।

आफ्ना अग्रजहरुबाट भाइदेग: र भगीरथ भैयाका कथा सुनेका पाटनका सम्पदा प्रेमीहरुले २०६८ सालदेखि नै भाइदेग: लाई पुरानै स्वरुप फर्काउने भनेर सल्लाह गरे। तर, धेरै अनुसन्धान गरे पनि भाइदेग:को तस्विर फेला परेन।

यसैबीच फेलिक्स ब्राण्डले १९२० मा जर्मनीमा संकलन गरेका तस्विरहरुमा भाइदेग:को भुइँ तल्ला, वास्तुकला, टुँडाल देखिनेगरी खिचिएको तस्बिर फेला पर्‍यो।

पछि जंगबहादुर राणाको पालामा नेपालमा बेलायती मिसनबाट खटिआएका सर्जन हेनरी एम्ब्रोस ओल्डफिल्डले बनाएको चित्रमा भाइदेग:को गजुरदेखि भुइँ तल्लसम्मको आकृति देखियो।

तस्बिर पाएर हौसिएका पाटनका सम्पदा प्रेमीहरुले सांस्कृतिक सम्पदा संरक्षण समूह स्थापना गरी भाइदेग:लाई मल्लकालीन शैलीमा बनाउने जमर्को गरे।

२०७१ फाल्गुनबाट भाइदेग:को पुनर्निर्माणको काम सुरु गरिएको थियो।

तर, २०७२ सालमा भूकम्प गयो। र, पाटनका अन्य सम्पदाको पुनर्निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएपछि भाइदेग: लाई पुन: मौलिक शैलीमा ब्युताउँने काम केही समयलाई रोकियो।

फेरि २०७३ देखि काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा भाइदेग:लाई पुन: मल्लकालिन प्यागोडा शैलीमा फर्काउने कार्यको सुरु भयो।

नर्वेजियन दूतावास, ललितपुर महानगरपालिका र नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा भाइदेग: को पुनर्निर्माणको कामले गति लिइरहेको छ।

संरक्षण आर्टिटेक्ट र केभीपीटीका नेपाल निर्देशक रोहित रंजितकारले अहिले पहिलो तल्लाको काम लगभग सकिएको, झ्याल, ढोका, दलिनहरु राख्ने काम भइरहेको र दोस्रो तल्लाका लागि आवश्यक काठहरु निर्माण भइरहेको बताए। परम्परागत शैलीमा काठ, माटो, ईटा, चुना , सुर्की लगायतका निर्माण सामाग्रीको प्रयोग गरी भाइदेग:लाई पुनर्निर्माण गरिरहेको बताउँदै उनले भूकम्प अघि पुरानै जगमा मन्दिर पुनर्निर्माण गर्ने योजना भए पनि भूकम्पपछि भने जगलाई थप बलियो बनाइ काम सुरु गरिएको बताए।

हाल पाटन दरबार क्षेत्रमा मन्दिरमा सिंह ख्वा (सिंहको मुख) आकृतिका दलिनहरु बनाउने कार्य भइरहेको छ। यस्तै टुँडाल, दलिन लगायतका काठमा बुट्टा भर्ने र आकार दिने काम पाटन र भक्तपुरमा भइरहेको भाइदेग: पुनर्निर्माणमा खटिएका साइट इन्जिनियर प्रणम होराले बताए।

मल्लकालीन शैलीमा बनाउनुपर्दा काठहरु आवश्यकता धेरै हुने तर उपयुक्त आकारको काठ नहुनाले 'सबलीकरण'लाई ध्यानमा राख्दै दुई काठहरु जोडेर नेवारी परम्परागत शैलीमा 'चुकुल' लगाउने कार्य भइरहेको उनले बताए।

पहिला भक्तपुरबाट जनशक्ति ल्याएर काम सुरु गर्ने योजना बनाए पनि भूकम्पपछि धेरैजसो स्थानमा भक्तपुरकै सिर्कमी, डकर्मी प्रयोग भइरहेकामा हाल बुंगमती र पाटन क्षेत्रकै मानिसहरु समेत काष्ठकला बनाउने कार्यमा खटिएका छन्।

काठको काम भइरहेको र सानोभन्दा सानो कुरालाई सुक्ष्म तरिकाले अध्ययन गर्दै निर्माण कार्य भइरहेकाले भाइदेग: पुनर्निर्माण हुन अझै कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

श्रीनिवास मल्लले भगीरथ भैयालाई दिएको सम्मान र नेतृत्वको अधिकारप्रति इर्श्या गर्दै श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले आफ्ना बुबालाई राजगद्दी त्याग्न बाध्य बनाए। योगनरेन्द्रको आदेशमा भगीरथको दरबारक्षेत्र भित्रै हत्या भएको थियो।

तत्कालीन समयमा पाटन दरबार क्षेत्रकै सबैभन्दा अग्लो भाइदेग: को पुनर्निर्माण कार्य सुरु भएपछि पाटनको शासन व्यवस्थामा सघाएका उनै भगीरथ भैयालाई पक्कै न्याय मिल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell