विश्वको दोस्रो ठूलो फिल्म बजारका लागि चिनिने चाइनामा 'एभेन्जर्स इन्ड गेम' अमेरिका रिलिजको दुईदिन अघि नै प्रदर्शनमा आयो। मार्भल स्टूडियो र डिज्नीले निर्माण गरेको बहु-प्रतिक्षित फिल्म बुधवार चाइनामा रिलिज भएको थियो।
चाइनाको बक्स अफिसमा फिल्मले पहिलो दिन १० करोड ७२ लाख कमाएको छ। 'मोन्स्टर हन्ट २'ले गतवर्ष ८ करोड ५ लाख कमाएको थियो। 'द फेट अफ दि फ्यूरियस'ले ६ करोड ९ लाख कमाएर एक दिनको रेकर्ड राखेको थियो।
अब रुसो बद्रर्सले निर्देशन गरेको 'इन्डगेम'ले यो रेकर्ड तोडेको छ। चाइनामा बुधवार ९९ प्रतिशत टिकेट सोल्ड आउट भएको थियो। फिल्मले प्रदर्शनको पहिलो हप्ता ३० करोड कमाउने आंकलन गरिएको छ। विश्लेषकहरुले फिल्मले चाइनाबाट ५२ करोड कमाउने अनुमान गरेका छन्। यो चाइनाको बक्स अफिस इतिहासकै ठूलो रकम हो।
चाइनाको बक्स अफिस इतिहासमा सबैभन्दा बढी 'द फेट अफ दि फ्यूरियस'ले ३९ करोड २८ लाख कमाएको थियो। 'एभेन्जर्स इन्ड गेम'ले यो कलेक्सनको रेकर्ड तोड्ने अनुमान गरिएको छ।
त्यस्तै भारतमा फिल्मको आक्रमक बुकिङ भएको कोइमोइमा उल्लेख छ। विकेन्डको टिकेट सबै सोल्डआउट भइसकेको बताइएको छ।
नेपालमा पनि फिल्मको बुकिङ आक्रमक रहेको 'एभेन्जर्स इन्ड गेम'का नेपाल वितरक मनोज राठीले बताए। नेपालको हलिउड फिल्मको व्यापारमा यो फिल्मले रेकर्ड राख्ने उनले बताए। बिग मूभिजमा शुक्रबारको सबै सोहरु सोल्ड आउट भइसकेको राठी बताउँछन्।
उनले भने 'नेपालमा हलिउड फिल्म हेर्ने छुट्टै समूह छ। हलिउडको अहिलेसम्मको बेस्ट फिल्म हुन्छ भन्ने लागेको छ। शुक्रबार र शनिबारको बुकिङ आक्रमक नै भयो।'
नेपालको मल्टिप्लेक्समा बुधबारनै फिल्मको टिकेट खरिद गर्नेको लाम देखिन्थ्यो। लस एन्जलसमा अप्रिल २४ मा फिल्मको विश्व प्रिमियर भयो। फिल्मका सबै कलाकार प्रिमियरमा उपस्थित थिए।