PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

चीनमा के गर्दैछिन् राष्ट्रपति भण्डारी? बेइजिङमा नेपाली मन्त्रीको लर्को



पहिलोपोस्ट

चीनमा के गर्दैछिन् राष्ट्रपति भण्डारी? बेइजिङमा नेपाली मन्त्रीको लर्को

काठमाडौं : चीनको ९ दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको सान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले शिष्टाचार भेट गरेका छन्। 

बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुगेकी थिइन्। भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको पर्यटनलगायतका विषयमा छलफल भएको जनाइएको छ।

सान्सीमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँ रहेको तासियान बुद्ध मन्दिरको अवलोकन भ्रमण गरेकी छन्। 

राष्ट्रपति भण्डारी आजै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ। बेइजिङमा आजदेखि दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको सम्मेलन हुँदैछ। सम्मेलनको भोलि उद्घाटन सत्रमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। 

राष्ट्रपति भण्डारी दुई दिन बिआरआई सम्मेलनका विभिन्न सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ। सम्मेलनमा शुक्रबार विश्वका उच्च नेताहरुको सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै शनिवार पनि सम्मेलन अन्तर्गतको गोलमेच बैठकमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। 

शनिवार राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा सहभागी हुनेछिन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आगामी सोमबार चिनियाँ राष्ट्राध्यक्ष सि जिङपिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन आयोगका प्रमुख नेता चाउ लचीसँग पनि भेटवार्ता हुनेछ। 

सोमबार हुने राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीसँगको बैठक पछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन-नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्। 

बेइजिङमा नेपाली मन्त्रीहरुको लर्को

यता सम्मेलनको छेको पारेर बेइजिङमा नेपाली प्रतिनिधिहरुको जमघट बढेको छ। यतिबेला चीनमा चार नेपाली प्रतिनिधि टोली छ। 

राष्ट्रपति भण्डारीले नेतृत्व गरेको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपतिका सल्लाहकारहरु सुशीलराज प्याकुरेल र लालबाबुप्रसाद यादव,  सांसदहरु योगेशकुमार भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, रामेश्वरराय यादव, कमलाकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत सहभागी छन्। 

यही सम्मेलनकै लागि भनेर अन्य तीन मन्त्रीहरु पनि छुट्टाछुट्टै मन्त्रालयको टोलीसहित बेइजिङ पुगिसकेका छन्। महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा,  भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवसहित मन्त्रालयका अधिकारीहरुको टोली मंगलबार नै बेइजिङ पुगिसकेका हुन्। 

उनीहरु सम्मेलनका क्रममा आयोजना हुने फरक फरक विषयका सत्रहरुमा सहभागी हुने छन्। यस पटक सम्मेलनका क्रममा १२ फरक-फरक विषयमा फोरमहरु चल्ने छन्। 

यी टोलीहरुको बेइजिङ भ्रमण सम्मेलन सहभागिताका लागि भएको र राजकीय भ्रमणमा सहभागी नभएका कारण यो टोली राष्ट्रपति सिसँग हुने द्विपक्षी बैठकमा सहभागी हुने छैनन्। 

नेपालले सो वार्ताका क्रममा पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर गर्नेछ जसका लागि विभागीय यातायात मन्त्री महासेठ बेइजिङमा रहे पनि परराष्ट्र मन्त्री ज्ञवालीले हस्ताक्षर गर्नेछन्। 

उनी मात्र होइन सम्मेलनमा सहभागी हुनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेताहरु पनि पुगेका छन्। ने क पाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार नै बेइजिङ पुगेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell