PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खुल्लामञ्च खोज्दै प्रधानमन्त्री, सेना र मेयरविरुद्ध नाराबाजी, 'खुल्ला मञ्च, कहाँ छ खुल्ला?' भन्दै बन्द गराइयो सटर

खुल्लामञ्च खोज्दै प्रधानमन्त्री, सेना र मेयरविरुद्ध नाराबाजी, 'खुल्ला मञ्च, कहाँ छ खुल्ला?' भन्दै बन्द गराइयो सटर

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले भ्यू टावर सहितको व्यापारिक भवन बनाउने निर्णय गरेपछि त्यहाँको बसपार्क खुल्लामञ्च सारिएको थियो।

आधा भागमा बसपार्क बनाउँदा राजनीतिक परिवर्तनको साक्षी बनेको खुल्ला मञ्च साँघुरियो। पछि फेरि खुल्लामञ्चको बाँकी रहेको आधा जग्गा वीर अस्पताल र दरबार हाइ स्कुललाई दिइएपछि खुल्लामञ्च जनताका लागि बन्दै रह्यो।

यसैबीच केही हप्ताअघि बसपार्क क्षेत्रमा ८ वटा नयाँ सटर बनाइयो।  बसपार्कका लागि सहज होस भनेर  त्यहाँ भएका रुखहरु काटिए।

हुन त: खुल्लामञ्चमा बसपार्क बनेदेखि त्यहाँ रत्नपार्कसम्म जोडिएको क्षेत्रमा अबैध सटरहरु थिए। बसपार्कलाई खुल्लामञ्चमा सारिनु र त्यहाँ पसल राख्न दिएकोमा पहिल्यैदेखि विरोध हुँदै आएको थियो। तर नयाँ सटरहरु बनेपछि स्थानीयहरुले आज बसपार्क क्षेत्रमा भेला भएर विरोध जनाएका छन्।

स्थानीय र सम्पदा अभियन्ताहरुले बसपार्कमा अनियमित रुपमा खोलिएका सटरहरु भत्काउनुपर्छ भन्दै आज त्यहाँ रहेका पसलहरु बन्द गराएका हुन्।

विरोध सभामा प्रतिनिधसभा क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले आफू बसपार्क सार्ने विपक्षमा पहिल्यै रहेको उल्लेख गर्दै भने,'बसपार्कका लागि  जग्गा खड्गी समुदायले दिएको थियो। खुल्लामञ्चको जग्गा पनि यहीकै स्थानीयहरुको अधिग्रहण गरिएको हो। पहिला राणाहरुले जग्गा हडपे, राजा गयो गणतन्त्रमा महानगरपालिका नै जग्गा अतिक्रमण गर्दैछ।' उनले तीन वर्षका लागि ठेक्कामा दिए पनि हालसम्म भवनको केही काम नभएको भन्दै महानगरको कार्यशैलीको विरोध गरे।

वडाध्यक्ष भन्छन्,'सटर भत्काइन्छ'

विरोध प्रदर्शनमा खुल्लामञ्चमा रहेको वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीसमेत थिए। उनी 'जनताले चुनेर जन प्रतिनिधि बनायो। खुल्लामञ्चमा भष्ट्राचार गन्हायो ' भन्ने नारा लेखिएको पर्चा बोकेर विरोधमा उभिएका थिए।

वडाध्यक्ष खड्गीले वडालाई केही जानकारी नदिइ रातारात सटर बनाएको भन्दै महानगरसँग यसबारे प्रश्न सोधेको बताए। उनले महानगरले उचित जवाफ नदिए जनताको अभिमतको कदर गर्दै सटर भत्काएर छाड्ने बताए। वडा २८ ले वैशाख १० गते महानगरलाई पत्र लेख्दै खुल्लामञ्चमा अवैध तरिकाले निर्माण भएको भनिएका सटर कसले र कसलाई निर्माण गर्न दिइएको सहमतिबारे प्रश्न सोधेको थियो।

विरोधसभामा सहभागीहरुले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको चर्को आलोचना गरे। 'मेयर अन्धो भएको र भूमाफियाहरुसँग मिलेको' भनेर शाक्यले महानगरलाई भष्ट्राचारको अखडा बनाएको आरोप लगाए।

महानगर र ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईले खुल्ला मञ्चलाई अतिक्रमण गरी व्यापार गरेको भन्दै खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्यले प्रमुख शाक्यले नैतिक रुपमा जवाफ दिनुपर्ने बताए।

सांसद प्रधानले गणतन्त्र दिवससम्म यहाँका संरचना नभत्काइए जनता मिलेर यहाँका गैर कानूनी संरचना भत्काउने र युद्धको अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत गराए।

बालुवाटारको जग्गा नै बेचिदाँ सरकार चुप लागेको र काठमाडौंमा रहेका खुल्ला जग्गा सकाउने खेलमा सरकार नै लागेको भन्दै अभियान्ताहरुले प्रधानमन्त्री विरुद्धपनि नारा लगाएका थिए।

प्रधानमन्त्रीसँग जम्काभेट,  लाग्यो ओली विरुद्धको नारा

स्थानीय जनप्रतिनिधि सम्मिलित विरोध सभापछि खुल्लामञ्चमा रहेका सबै पसल बन्द गराउँदै खुल्लामञ्च, महांकाल, आरएसएसी हुँदै शहिदगेट पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीसँग अभियान्ताहरुको जम्काभेट भएको थियो।

प्रधानमन्त्रीको स्कर्टिङसम्म पुग्न प्रहरीले रोक्दै गर्दा उनीहरुले प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए।

प्रधानमन्त्री ओली भूकम्प गएको चार वर्ष पुगेको दिन आज बसन्तपुरको सम्पदा निरीक्षणमा जाँदै थिए।  अभियान्ताहरुले खुल्लामञ्च/ टुंडिखेल अतिक्रमणमा सेनाको पनि हात रहेको भन्दै सैनिक मुख्यालय अगाडी सेना विरुद्ध नारा लगाएका थिए।

 

'प्रमुख भाग्दै हिड्ने'

महानगरपालिका प्रमुखलाई ज्ञापनपत्र दिन सांसद सहित पुगेकाहरुलाई प्रहरीले महानगरको गेटमा रोकेको थियो। अभियान्ताहरुलाई प्रहरीले रोक्दा केहीबेर अवस्था तनावपूर्ण भएको थियो।  सांसद प्रधान र वडा अध्यक्षलाईसमेत प्रहरीले महानगर गेटमा रोकेको थियो।

पछि जनप्रतिनिधिसहित केहीलाई महानगर कार्यलय रहेको जग्दम्बा कम्प्लेक्स प्रवेश गर्न दिइएको थियो।

महनगर प्रमुख शाक्य भने वसन्तपुरमा प्रधानमन्त्री आउने भएपछि उतै लागेको बताइएको थियो।

अभियन्ताहरुले शाक्य महानगरलाई लथालिंग पार्दै जनतासँग भाग्दै हिडेको आरोप लगाएका थिए।

प्रमुख नभएपछि महानगरकी उपप्रमुख हरीप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाइ तरुन्तै खुल्ला मञ्च खुल्ला नगरिए स्थानीयले गएर भत्काउँने चेतावनी दिँदै त्यसको जिम्मेवार महानगर हुनुपर्ने भन्दै सचेत गराए।

उपप्रमुख खड्गीले आफूलाई सटर निर्माणबारे मिडियामा समाचार आएपछिमात्रै जानकारी भएको भन्दै त्यहाँ रहेका सम्पूर्ण गैर कानूनी संरचना भत्काउने बताइन्। खड्गीले खुल्लामञ्चमा एउटा शौचालय, फार्मेसी लगायत चार-पाँच वटा सटर बनाउने सहमतिमात्रै भएको जानकारी दिइन्।

खड्गीले प्रमुख शाक्यले उपप्रमुखलाई निरिक्षणको जिम्मेवारी दिएको भनेर पन्छिन नमिल्ने भन्दै त्यहाँ सटर बनाउनेहरुको शक्तिशाली राजनीतिक पहुँच रहेको हुनसक्ने समेत बताइन्।

ज्ञापनपत्र बुझेपछि खड्गीले खुल्लामञ्चको निरिक्षण गर्दै आवश्यक अनुसन्धान गर्दै कारवाही प्रक्रिया अघि बढाइने बताइन्।

हाल खुल्लामञ्चमा ४० वटा भन्दा बढी सटरहरु बनाइएको छ भने मञ्च रहेको क्षेत्रामा वीर अस्पताल र अस्थाइ रुपमा दरबार हाइ स्कूलको पढाइ हुँदै आएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell