PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

सम्पदा पुनर्निर्माणमा भक्तपुरका मेयर प्रजापतिको सुत्रः 'विदेशीलाई ठेक्का नदिने, सकेसम्म मौलिक पहिचान'

सम्पदा पुनर्निर्माणमा भक्तपुरका मेयर प्रजापतिको सुत्रः 'विदेशीलाई ठेक्का नदिने, सकेसम्म मौलिक पहिचान'

सहयोग रञ्जित/पहिलोपोस्ट


भक्तपुर कुनै बेला नेपालमण्डलको राजधानी थियो। लिच्छवी र मल्लकालमा भक्तपुर देशको केन्द्र मात्र बनेन, भौतिक र अभौतिक सम्पदामा पनि उत्तिकै धनी बन्यो।

तर, २०७२ साल वैशाख १२ गतेको भूकम्पले त्यहाँका भौतिक सम्पदा माथि क्षति पुग्यो। त्यसबाट त्यहाँका अभौतिक सम्पदा सञ्चालनमा समेत प्रभाव पर्‍यो।

वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा रहेका सयौँ सम्पदामध्ये १३० वटा सम्पदाहरूमा धेरै क्षति पुगेको थियो। जनप्रतिनिधि नहुँदा ती सम्पदाहरूको पुनर्निर्माण कार्य सुस्त र मनोमानी ढंगले चलेको थियो। जनप्रतिनिधि आएपछि सम्पदा पुनर्निर्माण कार्यले राम्रै गति लिइरहेको छ।

अरू जिल्लामा भन्दा भक्तपुर सम्पदा पुनर्निर्माणमा अगाडि रहेको छ। करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको नगरपालिकाको दाबी छ। केहीको पुनर्निर्माण कार्य भइरहेको छ भने आर्थिक अभावका कारण केहीको काम सुरु हुन सकेको छैन।

भक्त्तपुरको नगर प्रवेशद्वार, केदारनाथ मन्दिर, त्रिविक्रम मन्दिर, शङ्कर नारायण मन्दिरको निर्माण सम्पन्न भइसकेको छ। सिद्धीलक्ष्मी मन्दिर,जंगीपाला, फसिदेग: भने पुरातत्व विभागले निर्माण गर्देछ।

वत्सल्यदेवी मन्दिरको पुनर्निर्माण नगरपालिकाले आफ्नो रहोबरमा गरिरहेको छ। तर, तान्त्रिक विधिले निर्माण भएको उक्त मन्दिर छिटो सक्ने रहरमा जथाभाबी गर्न नहुने भएकाले निर्माण सकिन अझै एक वर्ष लाग्ने बताउँछन् भक्तपुर नगरपालिका सम्पदा उपशाखाका इन्जिनियर सूर्य खर्बूजा।

'सही ढुङ्गा छनोट गर्न समय लाग्छ। पहिचान गरेर ढुंगालाई तह मिलाएर राख्ने काम भइरहेको छ। हामी हतारमा छैनौँ' उनले भने। 

भक्तपुरमा निर्माण भइरहेको सम्पदामध्ये साना योजनाहरू प्राय: सकिएको अवस्था छ। केही ठूला योजनाहरूको काम बाँकी छ। भैरव मन्दिर, न्यातपोल र कला संग्रहालयको मुख्य काम बाँकी रहेको छ। न्यातपोलको काम आगामी असारदेखि सुरु गर्ने योजना नगरपालिकाको छ। भैरव मन्दिरको पुनर्निर्माण भइरहेको छ।

भक्तपुर दरबार क्षेत्रभित्र प्रवेश गर्ने बित्तिकै अहिले पनि टेको लगाएर राखिएको एउटा दरबार देखिन्छ। त्यो दरबारमा हाल कला संग्राहलय रहेको छ। त्यसलाई बाहिरबाट टेको दिएर राखिएको चार वर्ष भयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति कला संग्रहालय निर्माण नहुनुमा केन्द्र सरकारको दोहोरो चरित्र बाधक रहेको बताउँछन्। भन्छन्, 'सरकारले हामीलाई त्यसको निर्माण गर्ने जिम्मेवारी दियो। तर पर्याप्त बजेट दिएन। जिम्मेवारी दिएर मात्र हुँदैन माग अनुसारको सहयोग पनि त हुनुपर्‍यो।'

कला संग्रहालयको निर्माण एक-दुई करोडमा हुने भएको भए नगरपालिका आफैंले गर्ने बताउँदै भने,' तर त्यो त ठूलो संरचना हो। काम गरेपछि बीचमा छोड्नु भएन। कला संग्रहालयसँगै रहेको लाल बैठक (सेतो दरबार) मल्लकालमा एउटै थिए। शाहकालमा त्यसलाई टुक्रा पारेर छुट्ट्याइयो।  हामीले त्यो दुवै संरचना पुरानै ढाँचा बनाउनुपर्छ भनिरहेका छौँ तर उहाँहरूले छुट्टाछुट्टै बनाउने भनिरहेका छन्। त्यसमा अलि अलमल रहेको छ।'

भक्त्तपुर नगरपालिकाले कला संग्रहालयको निर्माणको लागत १५ करोड जति लाग्ने अनुमान गर्दै सरकारसँग बजेट माग गरेको छ। तर सरकारी संयन्त्रबाट त्यति रकम उपलब्ध गराउन नसक्ने जस्तो कुरा भएको भन्दै उनले नेपाल  सरकारले पैसा पठाउने बित्तिकै काम सुरु गर्न तयार रहेको बताए।

कला संग्रहालय मात्र नभई भक्तपुरमा भत्किएका सबै सम्पदाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने प्रस्ताव गरेको थियो। जनप्रतिनिधि नहुँदा सम्पदा पुनर्निर्माण गर्ने सम्झौता पनि भएको थियो। तर स्थानीय निर्वाचनपछि त्यो सम्झौता भक्तपुरको हितमा नभएको भन्दै नगरपालिकाले अस्वीकार गरिदियो। 

प्रमुख प्रजापति आफूहरूले विदेशी दातृ निकायको सहयोग नभई उनीहरूको सर्तका कारण प्रस्ताव अस्वीकार गरेको बताउँछन्।

'बिना सर्त नगरपालिकालाई सहयोग गर्न चाहन्छन् भने स्वागत छ। तर उनीहरू शसर्त सहयोग गर्ने भनेर आउँछन्।'

जर्मनी विकास बैंकसँग एक अर्ब २० करोड सहयोग गर्ने भनेर सम्झौता नै भएको उदाहरण दिँदै प्रजापतिले भने, 'नेपाल सरकार र भक्तपुर नगरपालिकासँगै सम्झौता भएको हो। त्यो बेला जनप्रतिनिधि थिएनन्।  तर निर्वाचित भएर आएपछि हामीले ती सम्झौता हेर्‍यौँ। शर्त अनुसार सबै उनीहरूले गर्ने, उनीहरूले सिफारिस गरेका सामानहरूकै प्रयोग गर्नु पर्ने, सम्पदा क्षेत्रमा स्टिल र सिमेन्टको प्रयोग गर्ने जस्ता कुराहरू हामीले स्वीकार गर्न सक्दैन थियौँ।'

अरूले कानून विपरीत यस्ता काम गरे रोक्नु पर्नेले नै यस्ता गैरकानूनी कुरामा सही गर्नु उचित हुँदैन भन्दै त्यो शर्त हटाउन आग्रह गरेको तर उनीहरूले सबै स्थानमा यसरी नै चलेको छ, यहाँमात्र किन हुँदैन भनेर भनेपछि नगरपालिकाले प्रस्ताव अस्वीकार गरेका उनले बताए।

प्रजापति सम्पदा पुनर्निर्माणमा केन्द्र सरकारले थप चासो दिनु पर्ने बताउँछन्।

ठेक्का र विदेशीको सहयोग ताकेर मात्रै सम्पदा बनाउन नहुने भन्दै उनी भन्छन्,'  सरकारसँग पैसा छ। त्यही पैसा नगरपालिकालाई दिएको भए हामी काम अगाडि बढाउथ्यौँ नै। तर नगरपालिकालाई काम गराउने भन्ने तर पैसा नपठाउने भएपछि त काम हुँदै-हुँदैन नि।'

नगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि भनेर निश्चित बजेट चाहिन्छ भनेर केन्द्रमा पठाएका तर हात्ती को मुखमा जीरा भने झैँ यो वर्ष जम्मा ३ करोड २२ लाख पठाएको भन्दै प्रजापतिले भने 'नगरपालिकासँग स्रोत धेरै नभएको र निर्माण गर्नुपर्ने सम्पदा धेरै छ। एक-दुई करोडमात्रै पठाएर त सम्पदा बन्दैन नि। '

सम्पदाको महत्त्व नबुझेकालाई निर्माण गर्न नदिउँ

काठमाडौँ र ललितपुरका धेरै जसो सम्पदा निर्माणको जिम्मेवारी ठेकेदारलाई दिँदा त्यो काम फत्ते हुन सकेको छैन। यस्तै गोरखा र नुवाकोट दरबारको पुनर्निर्माण हुन नसक्नुको अवस्थाको उदाहरण दिँदै प्रजापति सरकारले स्थानीय तहलाई सम्पदा निर्माणको जिम्मेवारी दिनुपर्ने बताउँछन्। बरु केन्द्रले त्यसपछि पुनर्निर्माणको अनुगमन गर्नुपर्ने उनको तर्क छ।    

भक्तपुरको सम्पदा निर्माणमा ठेक्का वा विदेशी निकायबाट सिधै काम नगराउने भन्दै उनले भने, 'सम्पदा पुनर्निर्माणमा सहजीकरण गर्ने काम सरकारको हो। अरूले त देश नै बनाइदिन्छ नि। अनि त्यसपछि देश कसको हुन्छ भन्ने मुख्य कुरा आउँछ। जसले बनाउँछ उसको हुन्छ। हामीले बनाए हाम्रो हो। अरूले बनाए उसको नाम हुन्छ।'

अहिले पनि दाताहरू नगरपालिकामा आएर सहयोग गर्ने इच्छा व्यक्त गरिरहेका छन्। तर नगरपालिकाले भने त्यो सहयोग रकम केन्द्र सरकारलाई दिन आग्रह गर्ने गर्दै आएको छ।

'मुख्य कुरा हामीले हाम्रो स्वाभिमानलाई कायम राख्नुपर्छ भन्ने हो। भक्तपुरको भएर भक्तपुरको मात्र होइन पुरै देशको सोच्नु पर्छ। भक्तपुरवासीको हितमा हामी काम गछौँ नै तर त्यो मात्र होइन देश कै लागि काम गर्न सक्यौँ भने राम्रो हुन्छ' उनले भने।

नेपालभर मौलिक सम्पदा पुनर्निर्माणमा बढी काठको प्रयोग हुन्छ। दरबार, मन्दिर,पाटी, सत्तलहरू निर्माणमा काठ नै चाहिन्छ। बजारमा किन्न पर्‍यो भने महँगो पर्न आउँछ। ठेकेदारलाई काम दिएको अवस्थामा गुणस्तर कम हुन्छ।

भक्तपुरमा भइरहेको पुनर्निर्माणमा काठको मात्र नभई अरू सामाग्रीको अभाव पनि छ।

पहिलाको जस्तो संरचना बनाउनका लागि काठ, माटो, दाची अप्पा (इट्टा), माअप्पा, तेराकोट्टा अप्पा,तान्त्रिक अप्पाको आवश्यकता रहेको बताउँछन् इन्जिनियर खर्बूजा। 

भन्छन्,' मन्दिर बनाउनका लागि लसिलो माटो चाहियो। माटो पाउन पनि गाह्रो छ। सिमेन्ट प्रयोग गर्नुभएन। सुर्की र चुनाको प्रयोग गर्‍यो तर यहाँ त चुना पनि विदेशबाट ल्याउनुपर्छ।'

त्यसैले भक्तपुरमात्र नभई देशभर सम्पदा पुनर्निर्माणमा देखिएको समस्याको समाधान गर्न केन्द्र सरकारले सहजीकरण गर्नु पर्ने बताउँछन् प्रजापति।

सरकारले सहज रूपमा काठ उपलब्ध गराउन कार्यविधि नबनाए सम्पदा पुनर्निर्माणको काम जति छिटो गर्न खोजे पनि सम्भव नहुने प्रजापतिको दाबी छ।

भन्छन्,'  हामीले भक्तपुरमा भएको जनशक्ति र स्रोत साधनको उपयोग गरेर सम्पदा पुनर्निर्माणको काम गरिरहेका छौँ। तीव्र गतिमा सम्पदाहरु निर्माण भइरहेका छन्। जस्तै भैरवनाथको  मन्दिरको पुनर्निर्माण बिस्का जात्राअघि नै सक्ने लक्ष्य थियो। तर काठको काम र अभावका कारण धेरै समय लाग्न गयो। त्यस बाहेकका सम्पदाहरु को काम धेरै राम्रो भइरहेको छ।'

अबका केही वर्षमा भक्तपुरका सबै सम्पदा पुनर्निर्माण भइसक्ने निश्चित छ। कुनैबेला एउटै राज्यमा रहेको काठमाडौँले भक्तपुरबाट भएको कामको केही सिको गर्न सकेमात्रै पनि लथालिंग अवस्थामा रहेका कयौँ सम्पदाहरु जीवन्त हुन सक्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell