काठमाडौँ : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) लीग बाट हुँदैछ।
नेपाली बास्केटबल इतिहासमै सबैभन्दा ठूलो बास्केटबल लिगको रुपमा रहेको यस लिगको सबै तयारी पूरा भएको पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी दिए।
पुरुष एनबीएलसँगै यस पटक देखि महिलाको पनि लिग (डब्लुएनबीएल) आयोजना हुने भएको छ।
पुरुषको लिग डबल राउण्ड रोविन लिगमा आयोजना हुनेछ। जसमा १० टोलीको सहभागिता रहनेछ। यसपटक ३ नयाँ टोली छन्।
यस्तै महिलातर्फ भने पाँच टोलीले मात्र यस संस्करणमा खेल्ने भएका छन्। जसमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँगै समृद्दि गोरिल्लाज र आइएसओ काइट छन्।
यस्तै यस पटक पनि लिगलाई मुख्य प्रायोजन सिजी ग्रुपको क्वीक्स ले नै गरेको छ। प्रायोजन बापत क्यास र काइन्ड गरी सिजी ग्रुपले १० लाख बराबरको सहयोग उपलब्ध गराउने अरुण कार्कीले जानकारी दिए।
यसैगरी एअरलाइन्स पार्टनरको रुपमा टर्किस एअरलाइन्सले पुरुष र महिला दुवैको मोस्ट भ्यालुएबल प्लेअरलाई युरोप भ्रमणको रिटर्न टिकेट प्रदान गर्ने भएको छ।
महिला र पुरुको दुवै लिगको विजेताले समान २ लाखर उपविजेताले समान १ लाख पुरस्कार प्राप्त गरेछन्।
आयोजकले यस पटक लिगलाई पाँच चरणमा वर्गिकरण गरेको छ। जसअनुसार पहिलो चरणमा पुरुष लिग, दोस्रो चरणमा महिला लिग गरिनेछ। त्यसपछि अलस्टार गेम र सेलेब्रेटी गेम हुनेछ।
लिग चरणपछि पुरुष र महिलाको प्लेअफ राउण्ड खेल हुनेछ भने अन्तिम चरणमा दुवै लिगको फाइनल खेलाइने भएको छ।
पुरुषको लिगमा वैशाख १५ देखि जेठ १४ गतेसम्म सञ्चालन हुनेछ। यस्तै महिला लिग जेठ १५ देखि असार ७ गतेसम्म हुनेछ।
८ टोलीको सहभागिता रहने पुरुषको एनबीएल होम एण्ड अवेका आधारमा खेलाइनेछ भने प्रत्येक टोलीले डबल राउण्ड रोविन लिगको आधारमा लिगमा २-२ खेल खेल्नेछन्।
पुरुष लिगमा कूल ५६ खेल हुनेछ। डबल लिगपछि अंकतालिकामा शीर्ष चार स्थानमा रहने चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्।
प्ले अफमा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर खेल्नेछ र विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्न पाउनेछन। लिगमा तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल्ने छ र त्यसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ।
महिलातर्फ एउटै भेन्युमा सबै खेल सञ्चालन गरिने र भेन्यु केही दिनमै निर्णय हुने पिडिसिएनका अध्यक्ष कार्कीले जानकारी दिए।
महिला लिगमा कूल २० खेल हुनेछ। लिग चरणको खेलपछि अंकतालिकामा शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्। प्ले अफमा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर खेल्नेछ र विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्न पाउनेछन। लिगमा तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल्ने छ र त्यसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ।
पुरुषतर्फ प्लेअफ बेस्ट अफ थ्री का आधारमा हुने भएपनि महिलातर्फ बेस्ट वानका आधारमा खेलाइनेछ।
लिगको उद्घाटन खेलमा साविक विजेता गोल्डेन गेट इन्टरनेशनल कलेज र साविक उपविजेता त्रिभुवन आर्मीबीच खेल हुनेछ।
नेपालको राष्ट्रिय टिमका कप्तान सदिश प्रधानले गत संस्करणको भन्दा यस पटक अझै राम्रो लिग हुने आशा व्यक्त गरे। यस्तै महिला टिमकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक लिग हुन लागेकोले उत्साहित भएको बताइन्।