PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पुनः प्रदर्शन गर्ने भनिएको 'छक्का पञ्जा २'ले पाएन हल, 'एभेन्जर्स इन्डगेम'को दर्शक फ्लो ह्वात्तै बढ्यो



पहिलोपोस्ट

पुनः प्रदर्शन गर्ने भनिएको 'छक्का पञ्जा २'ले पाएन हल, 'एभेन्जर्स इन्डगेम'को दर्शक फ्लो ह्वात्तै बढ्यो

काठमाडौं :  यो साता शुक्रवार तीन फिल्म प्रदर्शनमा आए। हलिउडको बहु-प्रतिक्षित 'एभेन्जर्स इन्डगेम', नेपाली फिल्म 'कालो वर्ष' र रि-रिलिज गरिएको 'छक्का पञ्जा २' प्रदर्शनमा आए।

'एभेन्जर्स इन्डगेम'को दर्शक माग बढेपछि मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले 'छक्का पञ्जा २'को सो हटाएको छ।

फिल्म अब सिंगल थियटर अष्टनारायण, गुण र गोपीमा रिलिज भइरहेको फिल्मका वितरक गोपालकाजी कायस्थले बताए। हुन त यसपटक फिल्मलाई दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले वितरण गरेका हुन्।

तर, रि-रिलिजका कारण पनि हल संचालकले फिल्ममा त्यति चासो नराखेको गोपालकाजी बताउँछन्। उनले भने 'जय नेपालमा फिल्मको ठूलो बोर्ड पनि राखेको थियो। तर, रि-रिलिजका कारण हल संचालकले फिल्म हटाएको हुनुपर्छ। त्यसैमाथि हलिउड फिल्मको दर्शक पनि त ह्वात्तै बढ्यो।'

बुधवार 'एभेन्जर्स इन्डगेम'को आक्रमक बुकिङ भएपछि 'छक्का पञ्जा २' हटाइएको क्यूएफएक्सका सिइओ रोशन अदिगाले बताए।

उनले भने 'नेपाली फिल्मको लागि दुईवटा सो दिएका थियौं। एभेन्जर्सको बुकिङमा दर्शकको ओभरफ्लो नै भयो। त्यतिखेरसम्म 'छक्का पञ्जा २'को कुनै सो बुक भएन। त्यसैले हटाएयौं।'

'एभेन्जर्स इन्डगेम'को शुक्रबारको अधिकांश सो सोल्डआउट नै भएको उनी बताउँछन्। शनिवार फिल्मले क्यूएफएक्समा ३१ सो पाएको छ। दर्शकको यस किसिमको फ्लो मार्भलकै एभेन्जर्स इन्फिनिटी वार'पछि 'इन्डगेम'मा देखिएको उनले बताए।

 

'इन्फिनिटी वारलाई २८ सो दिएका थियौं। तर, एभेन्जर्स इन्डगेमको लागि दिएको सबै सो हाउसफूल भएको त क्यूएफएक्समै पहिलोपटक हो' उनले सुनाए। क्यूएफएक्सको साइटमा अत्याधिक दर्शकले एकैपटक फिल्मको सोमा क्लिक गर्दा सर्भर नै डाउन भएको उनले बताए। तर, उनीहरुले उक्त सर्भर तुरुन्तै निर्माण गरिहाले। मंगलवारदेखि नै हलबाहिर दर्शक टिकटका लागि पुगेको उनको भनाई छ।

'मंगलवार त हामीले दर्शकलाई कन्भिन्स गरेर पठायौं। बुधवार त ९ बजेदेखि नै टिकटका लागि दर्शकको लाइन नै लाग्यो हलबाहिर। सिभिलमा सेकेण्ड फ्लोरसम्म लाइन लागिसकेको थियो', उनले भने 'अन्य हलमा पनि यस्तै भयो। हामी पनि अचम्ममा नै पर्‍यौं। यस किसिमको दर्शक क्रेज पहिलोपटक हो मैले पनि देखेको।'

बिग मूभिजमा पनि शुक्रवारको सो सोल्डआउट भएको 'एभेन्जर्स इन्डगेम'का नेपाल वितरक मनोज राठीले बताए। नेपालको हलिउड फिल्मको व्यापारमा यो फिल्मले रेकर्ड राख्ने उनले बताए।

उनले भने 'नेपालमा हलिउड फिल्म हेर्ने छुट्टै समूह छ। हलिउडको अहिलेसम्मको बेस्ट फिल्म हुन्छ भन्ने लागेको छ। शुक्रबार र शनिबारको बुकिङ आक्रमक नै भयो।'

 यो फिल्मले चाइनाको बक्स अफिसमा रेकर्ड नै राख्यो। अमेरिका रिलिजको दुईदिन अगावै प्रदर्शनमा आएको फिल्मले चाइनाको बक्स अफिसमा पहिलो दिन १० करोड ७२ लाख कमायो। फिल्मले चाइनाको ओपनिङ व्यापारमा  रेकर्ड नै राख्यो। चाइनामा 'मोन्स्टर हन्ट २'ले गतवर्ष ८ करोड ५ लाख कमाएको थियो।

फिल्मले प्रदर्शनको पहिलो हप्ता  चाइनामा ३० करोड कमाउने आंकलन गरिएको छ। विश्लेषकहरुले फिल्मले चाइनाबाट ५२ करोड कमाउने अनुमान गरेका छन्। यो चाइनाको बक्स अफिस इतिहासकै ठूलो रकम हुनेछ।

त्यस्तै फिल्मले भारतमा पनि एड्भान्स बुकिङमा रेकर्ड नै राख्न सफल भयो। भारतमा रिलिज भएका हलिउड फिल्मको एड्भान्स बुकिङमा फिल्मले रेकर्ड राखेको हो।

भारतको २५ सय हलबाट फिल्म प्रदर्शनमा आएको हो। फिल्मले विश्वभरबाट २१ करोड माथिको ओपनिङ व्यापार गरेको इन्डिया टूडेमा उल्लेख छ। यो फिल्म २०१९ कै सबैभन्दा धेरै कमाउने फिल्म हुने विश्लेषकको अनुमान छ। रुशो ब्रदर्स निर्देशित फिल्म मार्भर स्टूडियो र डिज्नीले निर्माण गरेको हो। मार्भलले बनाएको २१ सिरिजको यो अन्तिम भाग हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell