PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

अब्बल बन्दै गएको प्रदेश अस्पताल कर्मचारी समायोजनको मारमा : दरबन्दी चिकित्सक ३० जना, कार्यरत ३ जनामात्र



पी बी खड्का

अब्बल बन्दै गएको प्रदेश अस्पताल कर्मचारी समायोजनको मारमा : दरबन्दी चिकित्सक ३० जना, कार्यरत ३ जनामात्र

सुर्खेत: भौगोलिक विकटता र असुविधाका हिसावले कम कर्मचारीको रोजाईमा पर्‍यो कर्णाली। प्रदेश होस् या स्थानीय दुवै तहमा कर्णाली रोज्ने कर्मचारीको संख्या निकै कम छ। जसले गर्दा पनि कर्मचारी समायोजनको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ। 

कर्मचारी समायोजनले प्रदेश अस्पताल अहिले थला परेजस्तै भएको छ। स्रोत र साधनले अब्बल बन्दै गएको प्रदेश अस्पताल पछिल्लो समय जनशक्ति अभावमा सेवा प्रवाह प्रभावित बन्दै गएको हो। २०६२ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नाममा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ३० जनाको दरबन्दी स्वीकृत छ। 

तर, दरबन्दीअनुसार क्षेत्रीय अस्पतालमा जनशक्ति नहुँदा सेवा प्रभावित हुदैँ गएको छ। यो अस्पताल जिल्ला हुदैँ क्षेत्रीय र अहिले प्रदेश अस्पताल हुँदासमेत दरबन्दी अनुसारको जनशक्ति पाउन सकेको छैन।
 
यसरी विशेषज्ञसहितको सेवा प्रवाह गर्ने अस्पतालमा ३० जनाको दरबन्दी भएपनि अहिले कर्मचारी समायोजन पछि ३ जना चिकित्सकको भरमा सेवा प्रवाह भइरहेको छ। समायोजन हुनुभन्दा पहिले १० जना डाक्टरले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए।
 
‘अस्पताललाई पहिलेको तुलनामा अहिले स्रोत साधनका हिसावले अब्बल बनाउँदै गएका छौँ,’ उनले भने,‘विगतदेखि नै जनशक्ति अभावको समस्या झेल्दै आएको अस्पतालमा अहिले त झनै कर्मचारी समायोजनले गर्दा मसहित तीन जना चिकित्सकले सेवा दिनुपर्ने बाध्यता छ।’

अहिले अस्पतालमा छात्रवृत्ति करारका ७ जना, विशेषज्ञ सेवा विस्तारका ४ जना र  सामाजिक विकास मन्त्रालयको सहयोगमा १० जना मेडिकल अधिकृत कार्यरत छन्।
 
मेसु डाक्टर खड्काका अनुसार ११ औँ तहका डाक्टरमात्रै नभएर नर्सिङ् अधिकृत, सिनियर अहेव, अहेव, नर्स लगाएतलाई पनि स्थानीय तहमा खटाईएपछि थप सेवा प्रवाहमा समस्या देखिएको छ। ‘कर्णालीमा एक कर्मचारी आउनै मान्दैनन् भएका कर्मचारीपनि कोही संघतिर कोही प्रदेशतिर पठाउँदा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समस्या देखिएको छ,’ उनले भने।

अस्पतालमा कर्णालीका दश जिल्ला र सुदुपश्चिमको केही जिल्लाका नागरिक सेवा लिदै आएका छन्। ‘अहिले जनशक्ति अभाव भए पनि अस्पतालमा उपलब्ध जनशक्तिले सेवा प्रवाह भने, प्रभावकारी रुपमा दिइरहेका छौँ,’ उनले भने।
 

स्रोत साधनमा अब्बल बन्दै प्रदेश अस्पताल

अस्पतालले जनशक्ति अभावको चुनौतीसंगै थप सेवा, सुविधा प्रवाह गर्ने कसरतमा छ। अस्पतालले भर्खरमात्रै झण्डै ४ करोडमा सिटी स्क्यान सेवा प्रवाह गरेको छ। स्वास्थ्य सेवा विभागबाट प्राप्त उक्त सहयोगबाट सिटी स्क्यान सेवा प्रवाह गरेको हो। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट समेत सञ्चालन गरेको छ। 

अस्पतालले एक हजार दुई सय ६३ पटक डाइलासिस गरेको छ भने, नसा तथा मानसिक रोग, रेडियोलोजी, हिस्टोप्याथोलोजि जस्ता विशेषज्ञ सेवा प्रवाह गरेको छ। अस्पतालको आफ्नै प्रयोगशाला, एक्स–रे, आईसीयु, एनआईसीयु लगाएतको सेवा प्रवाह गरिरहेको छ। अस्पताल हाताभित्रै फार्मेसी सञ्चालन गरी १० प्रतिशत छुटमा औषधि बिक्रि समेत गर्दै आएको छ।

साविकको ५० शैयाबाट अहिले ११५ शैया पुर्‍याएको छ भने, ३०० शैयाको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यस अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।
 
गत कात्तिकमा साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कर्णाली प्रदेश सरकारले आफु मातहतमा ल्याएर प्रदेश अस्पताल नामाकरण गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell