PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

जिल्ला सदरमुकाममै रहेको स्कुलमा २७ विद्यार्थी : दुई करोड ऋण लिएर ८ कोठे भवन



अमर बडुवाल

जिल्ला सदरमुकाममै रहेको स्कुलमा २७ विद्यार्थी : दुई करोड ऋण लिएर ८ कोठे भवन

धादिङ : सदरमुकाम धादिङवेसीमा रहेको निलकण्ठ नगरपालिकाको धुँवाकोटमा २७ जना विद्यार्थी रहेको एक प्राथामिक विद्यालयमा दुई करोड रुपैयाँ ऋण लिएर ८ कोठे भवन निर्माण गरिएको छ।

निलकण्ठ नगरपालिका १४ चिन्नेखर्कमा रहेको जनकल्याण आधारभुत विद्यालयको भवन २०७२ साल वैसाख १२ गतेको भूकम्पले भत्काएपछि लागि दुई करोड चार लाख रुपैयाँ खर्चेर नयाँ भवन बनाइएको हो। धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले उक्त भवनको उद्घाटन गरे।

भत्किएको उक्त विद्यालय भवनलाई जापान सहयोग नियोग (जाइका) को दुई करोड चार लाख रुपैयाँ ऋण सहयोगमा राष्ट्रिय पूनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले पूनर्निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो।

५ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा अहिले २७ जना मात्र विद्यार्थी भर्ना भएका छन्। गत वर्ष ३५ जना विद्यार्थीले अध्ययन गरेका थिए। भूकम्प जानु अघि भने उक्त विद्यालयमा ६५ जना विद्यार्थीले अध्ययन गरेको विद्यालयमा प्रधानाध्यापक शालिकराम सापकोटाले बताए।

कक्षा एकमा गत वर्ष ५ जना विद्यार्थी भर्ना भएका थिए। यो वर्ष पनि ४/५ जना भन्दा बढी विद्यार्थी भर्ना भएका छैनन्। सबैभन्दा धेरै विद्यार्थी रहेको कक्षा ५ मा ९ जना विद्यार्थी भर्ना भएका थिए। ५ जना विद्यार्थीले मात्र अध्ययनलाई निरन्तरता दिए भने बाँकी ४ जनाले बीचैमा स्कुल छोडेर गएका थिए।

'हरेक वर्ष १० देखि १२ जना विद्यार्थी घटिरहेका छन्,' प्रधानाध्यापक सापकोटाले भने, '१ कक्षामा भर्ना नभए २ वा ३ कक्षा पढ्न अन्यत्र बाट विद्यार्थी आउँदैनन्। बरु अलि ठूला भए भने भएका विद्यार्थी पनि अन्यत्र पढ्न जान्छन्। अहिले कक्षा १ मानै विद्यार्थी आउन छोडेका छन्। मुहाननै सुक्दै गएको छ।'

विद्यालयमा २७ जना विद्यार्थीको लागि ३ जना शिक्षक छन्। २ जनाको स्थायी दरबन्दी छ भने १ जना निजी स्रोतबाट अध्यपन गराइरहेका छन्। भूकम्प अघिसम्म भने निजी स्रोतबाट ३ जना शिक्षकले पढाइरहेका थिए।

विद्यालय मर्जमा जाने विषयमा पनि निकै छलफल भइरहेको छ। नजिकै रहेको रातेमाटे स्कुलमा मर्ज गर्ने बहस चलिरहेको विद्यालयमा दुई करोड रुपैयाँ खर्च गरेर किन भवन निर्माण गरियो भन्नेमा पनि स्थानीयले प्रश्न उठाएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी रिमालले पनि विद्यालय मर्ज हुने कुरा उठिरहेको बताए। तर साना केटाकेटीलाई १ घण्टा टाढाको स्कुलमा कसरी पठाउने भन्ने विषयमा कुरा मिलेको छैन।

यसरी स्थापना भएको थियो, विद्यालय

२०४७ साल सम्म चिन्नेखर्कका केटाकेटी पढ्नको लागि करिब १ घण्टा टाढाको स्कुलमा जाने गरेका थिए। टाढा स्कुल भएका कारण सानो उमेरमा पढाई सुरु गर्न सकिन्नथ्यो। ९/१० वर्ष नभइ स्कुल जान नपाउने र १५/१६ वर्ष भएपछि बिहे गर्ने चलनले चिन्नेखर्कका बालबालिका पढाई बाट वञ्चित हुँदै आएका थिए।

विद्यालयका संस्थापक कृष्ण रिमालले आफ्ना छोराछोरीले दु:ख नपाउन भनेर विद्यालय निर्माणको पहल गरेको प्रतिनिधि सभाका सदस्य खेमप्रसाद लोहनीले बताए। २०४८ सालदेखि चिन्नेखर्कमा विद्यालय स्थापना भयो र ४/५ वर्षकै उमेरदेखि बालबालिकाले पढ्न पाए।

उक्त स्कुलको सुरुवातमा ३ कक्षासम्म मात्रै पढाइ हुने भए पनि १०० जना भन्दा बढी विद्यार्थी पढ्ने गरेका थिए। तर, पछिल्लो समय बसाई सराई, वैदेशिक रोजगारी र भौतिक सुविधा खोज्दै मानिसहरु बाहिरिएपछि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको संस्थापक कृष्ण रिमालले बताए।

जतिबेला धेरै विद्यार्थी थिए त्यतिबेला भवन नभएर विद्यार्थीले भुइँमा बसेर पढ्नुपर्थ्यो, अहिले विद्यार्थी नै नभएको बेला आलिसान भवन निर्माण भएको विद्यालयका संस्थापक अध्यक्ष कुलप्रसाद रिमालले बताए।

विद्यालयमा निजी स्रोतबाट अध्ययपन गराइरहेका शिक्षक/शिक्षिकाहरु पनि बच्चा जन्मिसकेपछि राम्रो स्कुलमा पढाउन भन्दै सदरमुकाम र राजधानीतिर लाग्ने गरेको स्थानीयहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell