1.jpg)
काठमाडौँ : प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदको विभिन्न खेलका पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ।
आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमबाट सहभागी खेलाडीले ६ स्वर्ण, २ रजत र ७ कांस्य जितेका थिए। जसमा पौडीमा नाथन दोर्जे शेर्पा एक्लैले सर्वाधिक ५ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए। यस्तै लनटेनिसको पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले एनआरएनएलाई थप एक स्वर्ण दिलाए। उनले पुरुष डबल्समा दावा सोनाम शेर्पासंग मिलरे १ कांस्य पनि हात पारे।
करातेकी शुभद्र श्रेष्ठले रजत जितिन्। जुडोका मोहन बम, बक्सिङका प्रदीप घिमिरे, लनटेनिसका अमृत पौडेल र करातेकी शान्ति अधिकारीले एक-एक कास्य जिते।
एनआरएनएले आठौँका स्वर्ण विजेतालाई १ लाख, रजतलाई ८० हजार र कांस्यलाई ६० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको हो। यस्तै सहभागी खेलाडीलाई पनि प्रोत्साहन स्वरुप ५०-५० हजार नगद प्रदान गरिएको थियो। एनआरएनबाट ७ राष्ट्रबाट विभिन्न ८ खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै एनआरएनएका सम्बन्धित खेलका प्रशिक्षक र रेफ्रीलाई पनि २५ हजारका दरले नगद पुरस्कार दिइयो। ८ प्रशिक्षक र २ रेफ्रीलाई नगद पुरस्कार दिइएको हो। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, एनआरएनएका अध्यक्ष भवन भट्टलगायतले पुरस्कृत गरे।