
काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई खेल्ने भएको छ।
शनिवार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अर्को सेमिफाइनलमा मलेसियाले सिंगापुरलाई पराजित गर्यो।
थाइल्याण्डको चियाङमाईमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै हङकङलाई ८६ रनमा रोकेपनि लक्ष्य भेट्न भने संघर्ष गर्नुपरेको थियो।
हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभर खेल्दै पूरा गरेको हो। त्यसका लागि नेपालले ६ विकेट गुमायो।
नेपालको लागि आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्कीले १२, दिपक बोहोराले ११ र सुवास अएरले १० रन योगदान गरे।
हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ बलमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो।
हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्ने सकेनन्। हङकङलाई अलआउट गर्न नेपालका निखिल कुमार सिंहले ४ विकेट हात पारे। यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान समान २ विकेट लिए।
डिफेण्डिङ च्याम्पियन नेपालले अब उपाधिका लागि मलेसियासँग आइतवार खेल्नेछ।
मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गर्दै नेपालसँगको फाइनल भेट पक्का गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो।
१७१ रनको लक्ष्य पछ्याएको सिंगापुर ३०.४ बलमा ११३ रनमै अलआउट भयो।