PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

ला लिगा: मेसीको निर्णायक गोलमा बार्सिलोना च्याम्पियन, पछिल्लो ११ वर्षमा आठौँ उपाधि

ला लिगा: मेसीको निर्णायक गोलमा बार्सिलोना च्याम्पियन, पछिल्लो ११ वर्षमा आठौँ उपाधि

पहिलोपोस्ट /पहिलोपोस्ट


बार्सिलोनाले ३ खेल अगावै स्पानिस ला लिगा २०१८-१९ को उपाधि जितेको छ।

कप्तान लिओनल मेसीले बेन्चबाट मैदान गएर एक मात्र गोल गरेपछि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो।

दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका मेसीले ६२औँ अर्टुरो भिदालको पासमा गोल गरेका हुन्।

पछिल्लो ११ वर्षमा बार्सिलोनाको यो आठौँ उपाधि हो भने समग्रमा २६औँ उपाधि हो। रियल मड्रिडले ला लिगाको उपाधि सर्वाधिक ३३ पटक जितेको छ।

बार्सिलोनाले लेभान्टेलाई हराउनुअघि दोस्रो स्थानको एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गर्दै बार्सिलोनासँगको दूरी ६ मा झारेको थियो।

यस्तो अवस्थामा बार्सिलोनाले लेभान्टेलाई हराएमा उपाधि जित्ने पक्का थियो र मेसीको एक मात्र गोलमा बार्सिलोनाले लेभान्टेलाई हराएर उपाधि जित्यो।

लिगमा ३५ खेल सकँदा बार्सिलोनाको ८३  अङ्क् छ भने दोस्रो स्थानको एट्लेटिकोको ७४ अंक छ। अक बाँकी रहेको तीन वटै खेल एट्लेटिकोले जितेमा र बार्सिलोनाले बाँकी खेल हारेमा पनि अंक बराबरी नै हुन्छ र यस्तोमा पनि बार्सिलोना नै अगाडि रहनेछ।

बार्सिलोनाले यही बुधबार च्याम्पियन्स लिग सेमिफाइनलमा इंग्ल्स क्लब लिभरपुलसँग खेल्दैछ र त्यसअघि नै ला लिगाको उपाधि जित्दै च्याम्पियन्स लिगको लागि तयार भएको संकेत दिएको छ।

लेभानेट विरुद्ध गोल गरेपछि मेसीले यस सिजन ला लिगामा गोलसंख्या ३४ पुर्‍याएका छन्। उनी दोस्रो स्थानमा रहेका करिम बेन्जामा र सहकर्मी लुइस सुअरेजभन्दा १२ गोले अगाडि छन्।

यस्तै मेसीले बार्सिलोनाबाट खेल्दै ला लिगाको उपाधि जितेको यो १०औँ पटक हो। कप्तानको रुपमा भने मेसीको यो पहिलो लिग उपाधि हो।

 

बार्सिलोनाले ला लिगा जितेको वर्ष:

1929–29, 1944–45, 1947–48, 1948–49, 1951–52, 1952–53, 1958–59, 1959–60, 1973–74, 1984–85, 1990–91, 1991–92, 1992–93, 1993–94, 1997–98, 1998–99,

*2004–05, 2005–06, 2008–09, 2009–10, 2010–11, 2012–13, 2014–15, 2015–16, 2017–18, 2018–19

* मेसीले ला लिगा जितेको वर्ष

 



ट्रेन्डिङ पोस्ट

Ncell