PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

मेसी र रोनाल्डोले २००९ पछि जिते एकै सिजन लिग उपाधि, भिदालको लगातार आठौं उपाधि



पहिलोपोस्ट

मेसी र रोनाल्डोले २००९ पछि जिते एकै सिजन लिग उपाधि, भिदालको लगातार आठौं उपाधि

युरोपको टप फाइभ लिगहरु मध्ये स्पानिस ला लिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वानको विजेताको टुङ्गो लागिसकेको छ।

अब इंग्ल्याण्डको प्रिमियर लिग र जर्मन बुण्डेसालिगाको मात्र उपाधि जित्ने टिमको निर्णय हुन बाँकी छ।

बार्सिलोनाले ३ खेल नै अघि नै ला लिगाको उपाधि जितिसकेको छ। यस्ते युभेन्ट्सले सिरी ए र पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि आफ्नो पक्षमा पारिसकेको छ।

यस क्रममा केही कीर्तिमानहरु समेत बनेका छन्।

गएराती भएको खेलमा लिओनल मेसीको एक मात्र निर्णायक गोलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै उपाधि जित्यो।

कप्तानको रुपमा मेसीको यो पहिलो र समग्रमा १०औँ ला लिगा उपाधि हो।

यसै सिजन ला लिगा क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोले पनि सिरि ए को उपाधि जिते। उनले तीन फरक देशको लिग उपाधि समेत जितिसकेका छन्।

यसैगरी सन् २००८-०९ को सिजनपछि मेसी र रोनाल्डोले एकै पटक लिग उपाधि जितेका छन्। त्यस सिजन दुवै खेलाडीले आ-आफ्नो क्लबका लागि लिग उपाधि जितेका थिए।

२००९ मा रोनाल्डोले म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिग जितेका थिए भने मेसीले बार्सिलोनाबाट लिग जितेका थिए।

 

भिदालको लगातार आठौं उपाधि

बार्सिलोनाले २६औँ पटक ला लिगाको उपाधि जित्दा चिलीका खेलाडी अर्टुरो भिदालले पनि लगातार आठ पटक लिग उपाधि जित्ने कीर्तिमान बराबरी गरे।

उनले तीन फरक देशका लागि लिग खेल्दै लगातार आठौँ पटक उपाधि जितेका हुन्।

सन् २०११ मा जर्मन क्लब वायर लेभरकुजनबाट युभेन्ट्स पुगेका उनले इटलीमा लगातार चार सिजन सिरी ए को उपाधि जिते। त्यसपछि २०१५ मा जर्मनीकै वायर्न म्युनिख पुगेका भिदालले लगातार ३ बुण्डेसालिगा जिते।

यसै सिजन स्पानिस जायन्ट बार्सिलोना पुगेका उनले त्यहाँ पनि पहिलो सिजनमै उपाधि जित्दै यस्तो सफलता हात पारेका हुन्।

यस्तो सफलता यसअघि इटलीका आन्द्रे बार्जागल् र जर्जिओ किलेइनी तथा स्वीडेनका ज्लाटन इब्राहिमोभिचले हात पारेका थिए।

युभेन्ट्सले लगातार आठौँ पटक सिरी ए को उपाधि जित्दा बार्जाग्ली र किलेइनी युभेन्ट्सकै खेलाडी थिए।

यस्तै इब्राहिमोचिभले सन् २००३-०४ देखि २०१०-११ को सिजनमा लगातार लिग उपाधि जितेका थिए। उनले तीन फरक देशको क्लबमा खेल्दै उपाधि जितेका हुन्।

इब्राहिमोभिचले नेदरल्याण्ड्सको अयाक्स, इटलीको युभेन्ट्स, इन्टर मिलान र एसी मिलान तथा स्पेनको बार्सिलोनाबाट लिग उपाधि जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell