कैलाली : दुई वर्षअघि धनगढीबाट घर फर्कँदै गरेका पथरीका २६ वर्षीय खुसीराम चौधरीको सडक दुर्घटनामा मृत्यु भयो।
अरु सवारी साधनसित ठोक्किएर यो दुर्घटना भएको थिएन, उनी चढेको मोटरसाइकल जोतिएको थियो सडक बीचमा रहेको रुखमा।
तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१/७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने यो सडक बनेको थियो।
त्यहाँ कालोपत्रे गरिएको सडकका बीचमा रहेका ३१ वटा रुख यात्रुका लागि धराप बनेका छन्। त्यस्तै एउटा रुखमा ठोक्किएर खुसीरामको मृत्यु भएको थियो।
तर उनको मृत्युपछि पनि यस्ता जोखिमयुक्त सडक बन्न छोडेका छैनन्।
अहिले सघन सहरी विकास आयोजनाको सडकअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ। त्यहाँको दृश्य अरु ठाउँका सडकभन्दा फरक छन्। यो सडक हेर्नुभयो भने तपाईँ छक्क पर्नुहुन्छ।
कालोपत्रे भइसकेको सडकको बीचबीचमा ठूल्ठूला रुखहरु ठिङ्ग उभिएका छन्।
यो सडकमा हरेक एक किमीमा औसत सात वटा रूख त्यसरी बीचमा रहेका छन्। यो तथ्याङ्क सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीको हो।
निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटरमा सानाठूला गरी झन्डै २ सय ८४ वटा रूख छन्।
धनगढीमा कालोपत्रे भइसकेका र हुने क्रममा रहेका सबै सडकहरू रुख नकाटेरै बनाउने क्रम चलेको छ। कतिपयमा बीचमै रुख राखेर कालोपत्रे सम्पन्न भइसकेको छ। कतिपय रुख राखेरै कालोपत्रे गर्ने तयारीमा छन्।
धनगढीको वडा नम्बर ४ मा रहेको तुलसी चोकदेखि भगवती टोलसम्मको सडक कालोपत्रे सम्पन्न भइसकेको छ । जहाँ १ किलोमिटरको बाटोमा ५ वटा आलो रुख छन्। अन्य दुवै नालीको भित्र पट्टी गरेर त्यहाँ १३ भन्दा बढी रुखहरू छन्।
त्यस्तै वडा नम्बर सातमा रहेको कालिका मन्दिरबाट जाली जोड्ने झन्डै ४ किलोमिटर कालोपत्रे भित्र ३२ भन्दा बढी रुख छन्।
चक्रपथ निर्माण २०७६ असारभित्र सम्पन्न गर्ने गरी २०७३ साल जेठ महिनामा सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाको निर्माणाधीन चक्रपथसहित अन्य निर्माणधीन तुलसीपुर–भगवती टोल सडक, जाली–उत्तरखिम्लिना सडक, पिपल चौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारा नगर सडकमा पनि रुख यथावत् छन्।
किन रुख नकाटी सडक बनाइएको हो त?
रुख काट्न वन विभागको अनुमति चाहिन्छ। आयोजनाका प्रमुख सुरेशकुमार वाग्ले वन विभागको अनुमतिमा रुख काट्ने हो भने सडक निर्माण नै गर्न नसकिने भएकाले रुख राखेरै कालोपत्रे गरिएको बताउँछन्।
धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले भने, ‘हामीले अहिलेसम्म वर्षौ कुर्दा पनि विभागबाट अनुमति आएन। अहिले पनि रुख कटानको आदेशका लागि अनुमति मागेका छौँ। आएपछि रुख काट्छौं।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का खुसीराम चौधरी त्यही बाटो भएर धनगढीबाट घर आवत् जावत् गर्छन्। ज्यानमारा सडक निर्माण भइरहेकोमा उनको चिन्ता छ।
‘यस्ता ज्यानमारा सडक बनाउनु भन्दा त बरु नबनाएकै जाति’, उनी भन्छन्, ‘हाम्रै गाउँको एक जनाको यही बाटोमा मृत्यु भयो।‘
धनगढीका स्थानीय धर्म बोहरा पनि बीच सडकमा रुख राखेरै सडक कालोपत्रे गरिएकोमा गुनासो गर्छन्।
‘विकास निर्माणमा होडबाजी गर्नु भन्दा कम गर्नु बरु राम्रै विकास गर्नु नि । दिनहुँ दुर्घटना निम्त्याउने सडक बनाएर पो के काम?’ उनी दुखेसो पोख्छन् ।
रुख काट्न सडक आयोजना र वनका आ–आफ्नै बाध्यता
सडक आयोजनाले पटक–पटक केन्द्रसम्मनै कटानको आदेशका लागि पहल गर्दा पनि अनुमति नपाएर कालोपत्रे गरेको बताउँछ। समयमै काम सक्नु पर्ने भएकोले आफूहरूले यसरी काम गरिरहेको उनीहरु बताउँछन्।
वाग्लेका अनुसार वन कार्यालयले रुख कटानको अनुमति नदिएपछि रूख वरिपरिको केही ठाउँ छोडेर सडक कालोपत्रे गर्न लागिएको हो।
रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि एक वर्ष पुग्न लाग्दासमेत अझैसम्म स्वीकृति नपाएको उनले जानकारी दिए।
प्रदेश अन्तर्गत रहेका वन मन्त्रालयका तल्ला निकाय र प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि केन्द्रबाटै कानुनी झन्झटताले रुख काट्न अनुमति दिन नसकेको बताएको छ।
प्रदेशकी वन मन्त्री माया भट्टले भनिन् ‘यो केन्द्रकै झन्झटताले सबै भएको हो । अब वन ऐन वनेपछि हामी यसको समाधान गर्छौँ।’