
काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेको दिल्ली क्यापिटल्स आइपीएल २०१९ को प्लेअफमा पुगेको छ।
आइतवार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले पराजित गर्दै दिल्लीले २ खेल अगावै शीर्ष चारमा स्थान पक्का गरेको हो।
सन्दीप लामिछाने विकेटविहिन रहेपनि दिल्लीका अन्य बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १८७ रनको लक्ष्य पछ्याएको बैंगलोरलाई दिल्लीले १७१ रनमै रोक्न सफल भयो।
धवन र अयेरको अर्धशतक मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले घरेलु मैदानमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा बैंगलोरले ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो।
दिल्ली सन् २०१२ पछि पहिलो पटक प्लेअफमा छनोट भएको हो।
दिल्लीले १२ खेलबाट ८ खेल जित्दै १६ अंक जोडेको हो। समान अंक रहेको चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। समान अंक भएपनि रनरेटमा दिल्ली शीर्ष स्थानमा छ।
अब बाँकी ६ टिम प्लेअफको दुई स्थानको लागि संघर्ष गरिरहेका छन्।
आजको हारपछि बैंगलोरको भने प्लेअफ पुग्ने सम्भावना न्यून बनेको छ। अंकगणितिय सम्भावना बाँकी रहेपनि बैंगलोरलाई प्लेअफ पुग्न बाँकी दुई खेल जितेर मात्र पुग्दैन बाँकी खेलहरुको नतिजा समेत कुर्नुपर्नेछ।
१२ खेलपछि ४ जितबाट बैंगलोरको ८ अंक मात्र छ। एक खेल कम खेलेको कोलकता नाइट राइडर्सको पनि ८ अंक न छ। कोलकताले आजै मुम्बई इन्डियन्ससँग खेल्दैछ।