
आन्द्रे रसेलको अलराउण्ड प्रदर्शन (८०* रन र २ विकेट) अनी क्रिस लिन र सुभमन गिलको अधशतक मद्दतमा कोलकता नाइट राइडर्सले आइपीएल २०१९ मा मुम्बई इन्डियन्साई पराजित गरेको छ।
आइतवार घरेलु मैदानमा भएको खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।
कोलकताको जितमा रसेललले ८० रन बनाउनुका साथै २ विकेट लिए। यस्तै गिलले ७६ र लिनले ५४ रन बनाए।
१२ खेलबाट कोलकताले १० अंक जोडेको छ। साथै लगातार ६ खेलको पराजय यात्रा पनि टुङ्गाएको छ।
सिजनको पाँचौ जितपछि कोलकता अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। समान अंक भएपनि कोलकता रनरेटमा सनराइजर्स हैदरावादभन्दा पछि छ। तर १० अंक नै जोडेको राजस्थान र पञ्जावलाई भने पछि पारेको छ।
उता हारपछि मुम्बईले भने प्लेअफमा स्थान बनाउन अझै कुर्नुपर्ने भएको छ। १२ खेलबाट १४ अंकसहित मुम्बई तेस्रो स्थानमा छ।
एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले रसेलको ८० रन मद्दतमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३२ रन बनाएको थियो।
तेस्रो नम्बरमा ब्याटिङ गरेका रसेलले ४० बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय क्रिस लिन र सुभमन गिलले अर्धशतक प्रहार गर्दै कोलकतालाई गतिलो सुरुवात दिलाएका थिए।
गिलले ४५ बल खेल्दै ६ चौका र ४ छक्काको मद्दतमा ७६ रन जोडे। यस्तै लिनले ५४ रन बनाए। उनले २९ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे।
जवाफमा खराब सुरुवात गरेपनि हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङ गर्दै मुम्बईलाई लक्ष्यसम्म डोहोर्याउने प्रयास गरेका थिए। तर हार्दिक ९१ रन बनाएर आउट भएपछि मुम्बई जितसम्म पुगन सकेन।
छैटौँ नम्बरमा ब्याटिङ गरेका हार्दिकले ३४ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरेपनि त्यो जितका लागि पर्याप्त भएन। यस्तै सूर्य कुमार यादवले २६ र क्रनल पाण्ड्याले २४ रन जोडे। हार्दिकले यस सिजनकै सर्वाधिक छिटो अर्धशतक बनाउने क्रममा १७ बलमै अर्धशतक प्रहार गरेका थिए।
कोलकताका लागि रसेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। सुनिल नारिन र ह्यारि गर्नेले पनि २-२ विकेट लिए। ४ ओभर बलिङ गर्दा गर्नेले ३७ र नारिनले ४४ रन खर्चे।