PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्स : 'गीत छान्दा कुरा मिल्दैन, भनाभन हुन्छ' 

टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्स : 'गीत छान्दा कुरा मिल्दैन, भनाभन हुन्छ' 

रीना मोक्तान/पहिलोपोस्ट


टिकटक चलाउनु हुन्छ? त्यसो भए एउटै स्क्रिन सेयर गर्ने हिस्सी परेको अनुहार भएका जुम्ल्याहा दिदीबहिनीका भिडियोहरु तपाईँ कसरी मिस गर्न सक्नुहुन्छ र?

नेपाली र हिन्दी गीतहरुमा लिप्सिङ गर्दै उनीहरुको हाउभाउयुक्त अभिनयले धेरैको मन जितेको छ।

र त, उनीहरुका फलोअर्स ५० लाख नाघेको छ। सबैभन्दा बढी फलोअर्स भएको नेपाली टिकटक अकाउन्ट अन्जु भण्डारीभन्दा ६ लाखमात्रै कम। 
उनीहरु हुन्, जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा। उनीहरुले म्यूजिकल्ली चलाउन सुरु गरेको गत साउनदेखि मात्र हो।

केही समयपछि चाइनिज कम्पनीले म्युजिकल्ली किन्यो  र नाम परिवर्तन गर्‍यो- टिकटक। 

यी जुम्ल्याहा दिदीबहिनीले पनि  त्यसपछि आफ्नो अकाउन्टको नाम परिवर्तन गरी ट्विनी गर्ल्स राखे। 

सुरुमा अभिनयमा रुचि राख्ने प्रिन्सीले टिकटक बनाउन थालेकी हुन्। दिदी प्रिज्मालाई भने खासै रहर लाग्दैन थियो। तर, बहिनीको अभिनयले उनलाई पनि तान्यो र अकाउन्ट खोलिन्। 

फरक फरक भिडियोमा भ्यु ज र कमेन्ट बढ्दै गर्दा उनीहरुले एकसाथ ‘स्क्रिन सेयर’ गर्न थाले। 

मिलेर बनाएको 'बाटैमा भेट भयो' र ‘मेरे सरकार’ बोलको गीतमा बनाएका सुरुवाती भिडियोहरु उनीहरुले आ- आफ्नो अकाउन्टबाट अपलोड गरे। तिनै भिडियोका कारण प्रिन्सीको फलोअर्स ह्वात्तै बढ्यो। त्यसपछि उनीहरुले एउटै अकाउन्ट चलाउने निधोसहित प्रिन्सीको अकाउन्टलाई 'ट्वीनी गर्ल्स' नाम दिए। 

फलोअर्स बढ्न थालेपछि थप भिडियो बनाउने उत्साह थपिएको बताउँछन् उनीहरु। 

'धेरै लाइक भएका फेसबुक पेजहरुले हाम्रो टिकटक भिडियो अपलोड गरिदिए। त्यसपछि ह्वात्तै फलोअर्स बढ्यो', उनीहरुले प्रतिक्रियाले थपेको उत्साह बारे सुनाए। 

टाइमिङ मिलेको लिप्सिङ, दुरुस्त हाउभाउका कारण पनि अत्याधिक फ्यान बढ्न थालेको उनीहरुलाई लाग्छ। 

प्रिन्सीले भनिन् 'जुम्ल्याहा हुनुले पनि केही योगदान पुर्‍यायो होला।' 

सुरुमा बिना मेकअप भिडियो बनाउँदै आएका उनीहरुले आजभोलि मेकअप पनि गर्न थालेका छन्। दर्शक प्रतिक्रियाले धेरै कुरामा ध्यान दिन पर्ने बनाएको बताउँछन्। 

टिकटक भिडियोमा मेकअप, टाइमिङ, भिडियो क्वालिटी ड्रेसअपले फरक पार्ने उनीहरुको बुझाइ छ। 

उनीहरुकै सिको गर्दै थुप्रै जुम्ल्याहाले टिकटक भिडियो बनाएका छन्। 

'एकचोटी त हामी भाइरल नै भयौं। मलाई के लाग्छ भने, केही कुराबाट एकैचोटी उम्लेर आउनुलाई भाइरल भनिन्छ’, प्रिज्मा भन्छिन्, ‘तर हामी अब टिकटकमै सीमित रहेनौं। त्यसैले अब हामीलाई भाइरल भन्न सुहाउँदैन।' 

प्रिन्सीले नर्दन लाइट एकेडेमी अफ एभियसन एण्ड टेक्नोलोजीबाट डिप्लोमा सकेर एयरपोर्टको ग्राउण्ड क्रुमा इन्टर्न गर्दैछिन्। 

त्यस्तै, प्रिज्मा भने मेधावी कलेजबाट होटल म्यानेजमेन्ट विषयमा स्नातक तेस्रो वर्षमा अध्ययन गर्दैछिन्। 

हिमालयन ह्वाइट हाउसबाट १२ सकाएका उनीहरुले चावहिलको आइडियल विद्यालयबाट एसएलसी दिएका हुन्।  

सुरुमा त टिकटक भिडियोबारे परिवारलाई समेत जानकारी थिएन। भिडियो चर्चामा आउन थालेपछि परिवारले पनि थाहा पाउँदै गए। सबैको पूर्ण साथ पनि रह्यो।

बाल्यकालमा दिदीबहिनी सँगै नृत्य गर्थे। उनीहरुको फेसियल एक्सप्रेसन देखेर सबै छक्क पर्थे। त्यसैको प्रभाव परेको उनीहरुको अनुभव छ। 
अहिले सेलेब्रिटी बनेका यी दिदीबहिनीलाई दर्शकले म्युजिक भिडियोमा पनि रुचाएका छन्। 

'मान्छेहरुले चिन्दा अर्कै अनुभव हुँदो रहेछ। फलोअर्स बढ्दै गएपछि हामी त मख्खै', मन्द मुस्कानसहित प्रिन्सीले बताइन्।

'ट्वीनी गर्ल्स'को जन्म मोरङको रमाइलो भन्ने ठाउँमा भएको हो। पाँच मिनेटको अन्तरमा जन्मिएका यी दुई २१ वर्षका भए। तीन दिदीबहिनीमध्येकी जेठी भने अध्ययनका लागि अष्ट्रेलियामा छिन्। 

गीत छान्दा भनाभन

देख्ने जति प्रायले छुट्याउन नसक्नेभन्दा उनीहरुलाई अचम्म लाग्छ। किनकि यी दुई आफू दुरुस्त भएको महसुस नै गर्दैनन्। 

प्रिन्सीले सुनाइन्, 'हाम्रो अनुहार नै मिल्दैन जस्तो लाग्छ दुबैलाई। एउटै मेकअप गर्दा र एउटै ड्रेस लगाउँदा समेत ट्विन्स जस्तो लाग्दैन। बरु हाम्रो व्यवहार र सोच्ने कुरा चाहिँ मिलिरहेको हुन्छ।' 

यी दुईबीच सबैभन्दा ठूलो समानता त खानेकुराको रुचिमा छ। 

उनीहरु उस्तै देखिने कपडा रुचाउँदैनन्। त्यसैले प्रिन्सी र प्रिज्मा प्राय फरक जिन्स र फरक टप्समा भेटिन्छन्। एउटाले हिलजुत्ता लगाउँदा अर्कोले फ्ल्याट लगाउँछन्। 

त्यस्तै फरक मत राख्छन् टिकटक बनाउने गीत छनौटमा। गीत छान्दा उनीहरुको मन मिल्दैन। प्रिन्सी सेन्टिमेन्टल गीत मन पराउँछिन् भने प्रिज्मा रौसे गीत। 'यही कारण धेरैपटक भनाभन भएको छ', प्रिज्मा थप्छिन्, 'जे भएपनि हामी एकअर्काको मिल्ने साथी हौं।' र, टिकटकले उनीहरुलाई झन् नजिक बनाएको छ। 

स्कूले जीवनको एउटै कक्षा, एउटै होमवर्क, उही साथीहरु भिन्न कलेज पढ्न थालेपछि फरक भए। पुन: टिकटकले यी दुईलाई लामो समय एकसाथ बिताउने बनाएको छ।

नकारात्मक कमेन्ट

टिकटक भिडियो नकारात्मक कमेन्ट पनि आउँछन्। जसले गर्दा उनीहरु दु:खी पनि हुन्छन्। 'माया जिन्दावाद'बोलको गीतमा पहिलो म्यूजिक भिडियो र टेलिश्रृङ्खला 'भद्रगोल'मा अभिनय गरेपछि नकारात्मक कमेन्टहरुको वर्षा नै भयो। 

'ट्विन्स भएर त चर्चामा आएको', 'रातारात भाइरल भएको', 'केही ट्यालेन्ट छैन', 'सधैं एक्सप्रेसन एउटै भयो' भन्ने नकारात्मक कमेन्टहरु बढ्न थालेका छन्।

त्यसलाई उनीहरुले 'इर्ष्या'को रुपमा लिए। प्रिज्माले सुनाइन्, 'मन पराउनेहरुको साथ छ। गाली गर्नेहरु सायद ‘जेलस’ भए। तर, हामी आफू खुशी हुने काम गर्न छाड्दैनौं।' 

आफूहरुको लागि यो चर्चा ठूलो उपलब्धि नभएपनि खुट्टा तान्नेहरुको कमेन्टले सतर्क बनाएको सुनाउँछन्। 

तर एउटै एक्सप्रेसनका विषयलाई उनीहरु आफ्ना विशेषता बताउँछन्, 'एउटै एक्सप्रेसन त हाम्रो विशेषता हो। अरुले चाहेर पनि यस्तो मिलाउन गाह्रो हुन्छ।'

यो जोडी संवादमा नभई गीतमा लिप्सिङ गर्न बढी रुचाउँछ। त्यसैले पनि एक्सप्रेसन सम्बन्धी बढी कमेन्ट आउने उनीहरुको अनुमान छ। 
प्रतिभा प्रस्फुटनका लागि टिकटक राम्रो प्लेटफर्म बनेको उनीहरुको बुझाइ हो।

दीपादमन्ता, मन्जिल, रेश्मा घिमिरे र गौरव घिमिरे पनि टिकटकबाटै चर्चामा आएका हुन्। 

'प्रतिभा भएका नभएका सबैको लागि उचित ठाउँ हो टिकटक। चर्चामा त आखिर राम्रो गर्ने नै आउने हो,' उनीहरु भन्छन्। 

भद्दा टिकटक

पछिल्लो समय टिकटक भिडियोमा विकृति एवं भद्दापन देखिन थालेको छ। यस किसिमको भिडियोले आफूहरुलाई हेर्ने दृष्टिकोणमा समेत फरक हुने चिन्ता उनीहरुको छ। 

भद्दा भिडियो धेरै बन्न थालेपछि उनीहरुका बुवाले पनि भन्न थालेका छन् 'यिनीहरुको भन्दा त मेरै छोरीहरुको भिडियो राम्रो।'

टिकटक प्रयोगकर्तालाई 'चटके', 'नौटङ्की' सम्बोधन हुन थालेपछि उनीहरुले असहज महसुस गरेका छन्। 

टिकटकले नै उपहार पठाएको सुन्दा चाहिं उनीहरु अचम्म मान्छन्। किनकि यति चर्चामा आउँदा पनि उनीले अहिलेसम्मक पाएका छैनन्।                                                                                                                                                                          

टिकटक – वरदान 

टिकटकबाट लाखौं फ्यान कमाएका उनीहरु टिकटकलाई वरदान ठान्छन्। टिकटक तपाईंहरुको लागि के हो?

'वरदान। हाम्रो प्रतिभा देखाउने प्लेटफर्म,' एकै स्वरमा दुवैले जवाफ दिए। 

उनीहरु भविष्यमा पनि टिकटक बनाउन नछोड्ने बताउँछन्। टिकटकबाट चर्चामा आएका उनीहरुले 'माया जिन्दावाद'सँगै प्रमोद खरेलले गाएको 'झुमा झुमा'बोलको गीतमा अभिनय गरिसकेका छन्। 

उनीहरुलाई फिल्मको पनि अफर आइरहेको छ। म्यूजिक भिडियो गरिहाले पनि फिल्ममा भने अभिनय सिकेर मात्र इन्ट्री गर्ने उनीहरुको योजना छ। 

 
टिकटकबाट पैसा 

सुरुवाती दिनदेखि उनीहरुले सीमित भिडियो बनाए। टिकटकको लत कहिले पनि नलागेको दावी छ उनीहरुको। बरु ख्यालख्यालमै टिकटक आम्दानीको स्रोत भने बनेको छ। 

फिल्मका गीतहरुमा टिकटक बनाए बापत् उनीहरुले पैसा पाउँछन्। 

'अहिलेसम्म 'ब्रेकअप', 'कागजपत्र'को प्रमोसनल गीतमा टिकटक बनाएका छौं', प्रिन्सीले यसो भन्नासाथ प्रिज्माले जोडिन्, 'टिकटक एपले नै चाहीँ हामीलाई पैसा दिँदैन। तर, पैसा कमाउन टिकटक सहयोगी भएको छ।' 

उनीहरुले रकम भने खुलाउन चाहेनन्। 

उनीहरुले म्यूजिक भिडियोसँगै सामसुङको एम सिरिज र पेज थ्री बुटिकका लागि फोटोसुट गराएका छन्। उनीहरुलाई विज्ञापनका लागि पनि प्रस्ताव आउन थालेको छ। 

भाग्यका कारण चर्चामा आएको भन्नेहरुलाई प्रिज्माको जवाफ छ 'जिन्दगीमा सबैले एकचोटी मौका पाउँछ। हामीले त्यो क्याच गर्‍यौँ।'

उनीहरुले अब एकसाथ काम गर्ने प्रण लिएका छन्। प्रिन्सीले सुनाइन् 'फिल्म गरेपनि एकसाथ गर्छौं। हामी छुट्दैनौं। भोलि एक एकजनालाई अफर आए पनि हामी एक्लाएक्लै गर्दैनौं।'

प्रिज्माले प्रश्न गरिहालिन् 'किन छुट्टेर काम गर्ने? हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ छुट्टिनु भा छ र? महजोडी जसरी हामी छुट्दैनौं। बरु गर्दैनौं तर छुट्टेर आउने छैनौं।'

राम्रो अफर पाए पनि दुवैजना सँगै काम गर्ने उनीहरुको योजना छ। आफूहरुलाई दर्शकले 'ट्विनी गर्ल्स' भनेर रुचाएका कारण आफूहरु नछुट्टिने बताउँछन् 'हाम्रो अस्तित्व एकअर्कामा छ।' 

ट्विन्स भन्नासाथ उनीहरुलाई असाधारण सोच्ने मानिसहरु पनि छन्। सुरुमा विद्यालयमा पनि 'ट्विन्स आका छन् रे जाम हेर्न' भन्नेहरुको भीड नै हुन्थ्यो। सुनाउँछन् 'ट्विन्स भन्ने साथै हेर्ने दृष्टिकोण फरक हुन्छ। तर, राम्रो दृष्टिकोण।' 

भिडियो कुराकानी


 



ट्रेन्डिङ पोस्ट

Ncell