PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली सेमिफाइनलमा



पहिलोपोस्ट

केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली सेमिफाइनलमा

सुर्खेत : कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ विजयी भएका छन्।

सोमवार भएको खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली-११ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्‍यो।

लगातार तेस्रो खेल जित्दै आयोजक कर्णाली-११ ले समुह 'ए' बाट समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ। सेमिफाइनल पुग्ने बाँकि ३ टिमको भने टुंगो लाग्न बाँकी छ।

 

पहिलो खेल

सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले हरायो।

खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र बनायो।

हिमालयनको ब्याटिङमा पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन। महेन्द्रनगरको बलिङतर्फ बिक्रम ठगुन्ना र आकाश चन्दले २-२ विकेट लिए।

पहिले ब्याटिङ गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए। यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो।

खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए।

 

दोश्रो खेल आर्मी कर्णाली-११ संग स्तब्ध

आयोजक कर्णाली-११ ले उपाधि दाबेदार मध्रये एक त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग रोजेको कर्णाली-११ ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो। उसको लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए। ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन योगदान दिए।

आर्मीको बलिंगमा सुसन भारि एक्लैले ५ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १-१ विकेट लिए।

१५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो।

आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ का बलर कृष्ण कार्की र रबिन्द्र जंग शाहीले ३-३ विकेट लिए। किशोर महतो र जितेन्द्र सिंह ठकुरीले १-१ विकेट लिए।

आर्मीको लागि बिनोद भण्डारीले सवारधिक ५५ तथा हरि बहादुर चौहानले ३८ रन बनाए । बिनोदले ४२ बलमा ९ चौका र १ छक्का तथा हरिले ३७ बलमा ६ चौका प्रहार गरे।

एक समय १५ ओभरमा ११२/३ को स्थितिमा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमाएको थियो। बाँकी ५ ओभरमा आर्मीले २५ रन मात्रै बनाउन सक्यो भने ५ थप ५ विकेट गुमाउन पुग्यो।

खेलको प्लेयर अफ द म्याच कर्णाली-११ का कप्तान रबिन्द्र जंग शाही घोषित भए।

प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा समुह बि अन्तर्गत न्यु होराइजन र हिमालयन क्रिकेट एकेडेमी तथा त्रिभुवन आर्मी क्लबले मध्य-पश्चिम क्रिकेट क्लबबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell