PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

महिला भलिबलमा आर्मीको टिम पहिलो पटक फाइनलमा



गोविन्दराज नेपाल

महिला भलिबलमा आर्मीको टिम पहिलो पटक फाइनलमा

काठमाडौँ : एउटा तथ्य जस्तै छ कपिल श्रेष्ठ जहाँ पुग्छन् आफ्नो टिमलाई च्याम्पियन बनाएरै छाड्छन्। नेपालको घरेलु भलिबलमा उनी सबैभन्दा सफल प्रशिक्षक हुन्।

जुन टिम हेरेपनि उनको एउटै लक्ष्य हुन्छ च्याम्पियन बनाउने। खेलाडीलाई सिकाएर उनी कहिल्यै थाक्दैनन्।

उनले नेपालको तीनवटै विभागीय टोलीको प्रशिक्षक सम्हालिसके। हाल कपिल श्रेष्ठ त्रिभुवन आर्मीको प्रशिक्षक छन्।

र अहिले आर्मीको घरेलु कोर्ट लगनखेलमा केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ।

त्यही कोर्टमा आर्मीको महिला टिमले फाइनलको यात्रा तय गरेको छ। अर्को संयोग के रह्यो भने आर्मीले अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो र अब उपाधिका लागि कान्छो विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफसँग खेल्नेछ

आर्मीको महिला टिम पहिलो पटक फाइनल पुगेको हो।

'पहिलो पटक फाइनल पुग्दा एकदम खुशी लागेको छ।' सेमिफाइनलमा पुलिसविरुद्ध पुनरागमन जितपछि श्रेष्ठले पहिलोपोस्टसँग भने।

आर्मीले हराएको पुलिस र अब फाइनलमा खेल्ने एपीएफ दुवै टोलि श्रेष्ठले सम्हालिसकेका छन्।

यसअघि दुवै क्लबलाई उनले आफ्नो प्रशिक्षणमा च्याम्पियन बनाइसकेका छन्।

सोमवार लगनखेलस्थित कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट हारेर पनि पुलिस विरुद्ध पुनरागमन गर्दै ३-१ ले खेल जितेको हो। पहिलो सेट २१-२५ ले गुमाएपनि आर्मिले पुनरागमन गर्दै बाँकी सेट २५-१८, २८ २८-२६, २५-१३ ले जितेको हो।

२०७५ सालभरी दर्जन प्रतियोगिता खेल्दा आर्मी फाइनल पुग्न सकेको थिएन। २०७६ को सुरुमै प्रदेश ५ मा भएको आठौँ राष्ट्रिय खेलुकद अन्तर्गत महिला भलिबलमा आर्मी चौथो भएको थियो।

यस वर्षको दोस्रो प्रतियोगितामा भने आर्मीले फाइनलसम्मको यात्रा तय गरेको छ। अब आर्मीको एउटै लक्ष्य उपाधि जित्ने नै रहेको छ।

झण्डै एक वर्षअघि प्रशिक्षक श्रेष्ठले आर्मीले विस्तारै लय समात्ने र अन्तिम उदेश्य महिला भलिबलमा नम्बर वान नै हुने बताएका थिए। अहिले उनी त्यसको नजिक पुगेका छन्।

यस पटक आर्मीलाई मौका छ तर एपीएफ नेपाली महिला भलिबलको नम्वर वान टोली हो। श्रेष्ठले नै एपीएफलाई त्यो अवस्थामा पुर्‍याएका थिए।

तैपनि यस प्रतियोगिताको समूह चरणमा आर्मीले एपीएफलाई कडा चुनौती दिएको थिए। प्रतिस्पर्धात्मक बनेको खेल एपीएफले ३-२ को सेटमा जितेको थियो।

फाइनलमा पनि आर्मीले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक श्रेष्ठले बताए।

हामी एकदमै उत्साहित छौँ। पहिलो फाइनल, त्यो पनि एपीएफसँग खेल्दैछौँ। हामीलाई घरेलु कोर्ट र दर्शकको साथ पनि हुनेछ। श्रेष्ठले भने।

आर्मीले पहिलो पटक फाइनल पुगेर इतिहास रचिसकेको छ। अब उपाधि जित्दै अर्को इतिहास बनाउने दाउमा छ। त्यसका लागि आर्मीले सन्तुलित प्रदर्शन गर्नु जरुरी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell