सूर्यप्रकाश कँडेल
चितवनः सेवाग्राहीको सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले पाउने सेवा पुरानै ढर्राको छ। विचौलिया हटाएपनि काम सुस्तै छ, सेवा उस्तै छ।
विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि मालपोत कार्यालयले दुई सातादेखि विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएको थियो। यस्तो रोकपछि पनि सेवाग्राहीले पाउने सुविधामा कुनै सुधार नआएको सेवाग्राहीहरु बताउँछन्। सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेस गर्दा पनि काम सम्पन्न गर्न हप्तौं लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। विभिन्न काम लिएर कार्यालय पुगेका सेवाग्राही घन्टौं कुर्न र दिनहुँ धाउन बाध्य छन्।
कर्मचारी अभावको कारण देखाउँदै एकै दिनमा हुने काम पनि पाँच–सात दिन लगाइदिने गरेको सेवाग्राहीको गुनासो छ। नारायणगढ, बेलचोकका सेवाग्राही राजन रेग्मी आफ्नो घर बिक्री गर्नका लागि लगत कट्टा गर्न मालपोत धाएको पाँच दिन भइसक्यो। ‘झन्डै एक हप्ता भयो, मुद्दा फाँटमा आएर फाइल अड्केको’ मालपोत कार्यालय परिसरमा भेटिएका उनी भन्छन्, ‘आज पनि के भनेर फर्काउने हुन्, थाहा छैन।’
भरतपुर मालपोत कार्यालयको सबै फाँटको हविगत उस्तै छ। मोठ भिडाउने, रजिष्ट्रेसन फाँट, तामेली फाँट लगायत सबै ठाउँमा सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन्। भरतपुर पटिहानीका श्रीकृष्ण आचार्य छोराहरूलाई अंशबण्डा पास गर्न मालपोत कार्यालय आए। उनको काम एकै दिनमा हुनु पर्ने, तर भएन। ‘कहिले वडामा जानुस्, कहिले नापीमा जानुस् भनेर दुःख दिन्छन्’ आचार्य भन्छन्, ‘कहिले नक्सा, कहिले सिफारिस, कहिले कित्ताकाटको बहानामा दिनहुँ फर्किनु परेको छ।’ सबै कागजपत्र तयार गरेर ५ दिनसम्म धाउँदा पनि काम नभएको उनले बताए।
भरतपुर महानगरपालिका ११ बसेनीका श्याम भण्डारीको गुनासो पनि यस्तै छ। ‘मेरो जग्गा सट्टापट्टा गर्नु पर्ने काम आज १६ दिन भइसक्यो, अझै सकिएको छैन’ मालपोतको सुस्त गतिको सेवा प्रवाहबाट आत्तिएका उनी भन्छन्, ‘मेरो जागिर भारतमा छ, जागिरमा फर्कन पाएको छैन ।कर्मचारीले कहिले वडा जानु भन्छन्, कहिले अर्को फाँटमा जानु भन्छन्। हामीले धेरै दुःख पायौँ।आवश्यक जानकारी लिने ठाउँ नभएकोले आफू अन्योलमा परेको उनी बताउँछन्।'
कर्मचारी अभावमा काम ढिला
मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेल कार्यालयमा विचौलियामाथि रोक लगाएपछि सर्वसाधारणको काम सहज भएको दाबी गर्छन्।
‘हाम्रो मुख्य समस्या भनेको कर्मचारी समस्या हो’ पौडेल भन्छन्, ‘अहिले पनि १४ जना कर्मचारी सरुवा भएका छन्, कोही रिटायर्ड छन्।’ उनका अनुसार अहिले देशभर कर्मचारी समायोजन नभएका कारण तोकिएको समयमा काम हुन नसकेको हो। कर्मचारी अभावमा ३ जना हुनु पर्ने फाँटमा १ जनाले काम भ्याउनु परेको कार्यालय प्रमुख पौडेल बताउँछन्।
उनका अनुसार कार्यालयमा जग्गा पास, अंशबण्डाका काम भन्दा पनि जग्गा धितो राख्ने काम बढी आउने गरेको छ। ‘अहिले ७० प्रतिशत काम जग्गा रोक्का (धितो) सम्बन्धी छ, अरू जग्गा पास सम्बन्धी’ उनले भने। कर्मचारी अभाव हट्ने बित्तिकै यो समस्या बिस्तारै हट्ने उनको भनाइ छ।
दुई वर्ष अघिसम्म जिल्लाका सबै क्षेत्रको जग्गाको रजिस्ट्रेशन पास, जग्गा रोक्का लगायतको काम गर्दै आएको मालपोत कार्यालय भरतपुरले हाल भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको काम हेर्दै आएको छ। जिल्लाका अन्य स्थानीय तह खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा मालपोत कार्यालयको शाखामार्फत जग्गा रजिष्ट्रेशन पास लगायतका काम हुँदै आएका छन्।