PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रम ओलीले सिकाए आफ्नो पार्टीका सांसदलाई मर्यादाको पाठ, राष्ट्रपति संसदमा आउँदा मर्यादित बन्न सुझाव



बीपी साह

प्रम ओलीले सिकाए आफ्नो पार्टीका सांसदलाई मर्यादाको पाठ, राष्ट्रपति संसदमा आउँदा मर्यादित बन्न सुझाव

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्ना सांसदहरुलाई संसदमा मर्यादा कायम राख्न टिप्स दिएका छन्।

नेकपा संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रवचन दिएका थिए। उनले बजेट अधिवेशनमा राष्ट्रपति आउँदा सांसदहरु ढिलो गरी आउने, उठेर हिँड्ने लगायतका गतिविधि गरेको प्रसंग उल्लेख गर्दै अमर्यादित काम नगर्न आग्रह गरे।

'शिष्टाचार मर्यादाको कुरामा ध्यान दिनुपर्छ। भाषा जथाभावी बोल्न भएन,' आफ्ना सांसदहरुलाई सम्बोधन गर्दै ओलीले भने, 'अरु पक्षले मर्यादा नराख्न पनि सक्छ। तर, हामीले चाहिँ त्यसको प्रतिवाद गर्दा पनि मर्यादित भएर गर्नुपर्छ।'

अध्यक्ष ओलीले बजेट छलफलमा सहभागी हुने सांसदहरुले अध्ययन गर्नुपर्ने ४ क्षेत्रगत विषय किटानी गर्दै त्यसमा तयारी गर्न आग्रह गरे। १. सुशासन, २. विकास, ३. लोकतन्त्र र ४. अन्तर्राष्ट्रिय सम्बन्धलाई अध्ययनको क्षेत्र बनाउन आग्रह गरे। बजेटको छलफलका विषयमा उनले उल्लेख गरेका विषयमा अध्ययन गरेर आउनसमेत आग्रह गरे। 'यी विषयमा अध्ययन गर्नुभयो भने अनिमात्र प्रभावकारी रुपमा बोल्न सक्नुहुन्छ,' ओलीले भने, 'बजेटको छलफलमा बोल्दा गहिराइमा अध्ययन गरेर बोल्नुपर्छ।'

प्रचण्डले प्रदेश २ को आलोचना गर्दा ओलीको फरक बोली

आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकार मधेशीको हितमा नचलेको भन्दै यही स्थिति रहे सरकारको नेतृत्व लिनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए।

तर, प्रचण्ड अनुपस्थित रहेको संसदीय दलको बैठकमा अर्का अध्यक्ष ओलीले भने प्रदेश २ सरकारको तारिफ गरे। 'अरुसँग पनि सिक्न पनि सकिन्छ,' प्रदेश दुईको प्रसंग उठाउँदै उनले भने, 'प्रदेश दुईले बेटी बचाओ बेटी पढाओ अभियान ल्याएको छ। त्यसअघि भारतको राष्ट्रपतिले यही नारा दिएका थिए। प्रदेश २ ले टपक्क टिपेर ल्यायो। यो कुरा राम्रो हो। हामीले सिक्नुपर्छ। सिक्नमा हिचकिचाउनुहुन्न।'

बालुवाटारको विवादित ललिता निवासको विषयमा भने सरकारले केही दिनमै तथ्य र प्रमाण सहित जानकारी दिने उनले बताएका थिए।

बजेटकै विषयमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक आगामी २१ गते बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell