
काठमाडौं : 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को काठमाडौं छनोट मे ११ मा हुने भएको छ। 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को अमाच्योर सिरिज अन्तर्गत टर्कीमा हुने वर्ल्ड गल्फ कपको काठमाडौँ छनोट हुन लागेको हो।
नेपालमा यस प्रतियोगिता हुन लागेको यो लगातार दोस्रो पटक हो।
टर्किस एअरलाइन्स र गोर्कण गल्फ क्लबको संयुक्त आयोजनाम हुने यस प्रतियोगिता मे ११ मा गोकर्णमा हुने मंगलवार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिएको हो।
टर्कीमा वर्ल्ड गल्फ कप हुन लागेको यो सातौँ पटक हो।
'पहिले नेपालमा यो प्रतियोगिताको छनोट गर्ने हाम्रो सपना थियो। गत वर्षदेखि हामीले यहाँ सुरु गर्यौँ। अब नेपाल पनि यसको हिस्सा बनिसकेको छ। हामी यसमार्फत नेपाली गल्फको विकास गर्न चाहन्छौँ।' टर्किस एअरलाइन्स काठमाडौंका जेनेरल म्यानेजर अब्दुल्लाह टुनसेर केसीसीले भने।
गोकर्ण गल्फ क्लबमा हुने एक दिने प्रतियोगितामा करिब १०० नेपाली गल्फरले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका डिरेक्टर दिपक आचार्यले जानकारी दिए।
प्रतियोगिताको विजेताले टर्कीको एन्तालयमा हुने वर्ल्ड गल्फ कप खेल्ने अवसर प्राप्त गर्नेछ।
'गत वर्ष नेपालबाट माधव आचार्यले यो अवसर पाएका थिए। टर्कीमा गएर खेल्न पाउनु नेपाली खेलाडीको लागि ठूलो अवसर हो।' आचार्यले भने।
टर्किस एअरलाइन्स काठमाडौंका प्रतिनिधि अब्दुल्लाहले नेपालको टुरिजम प्रमोसनका लागि समेत यस प्रतियोगिताले सहयोग गर्ने बताए।
नेपालमा हुने प्रतियोगिताको लागि आयोजकले रोएल नेपाल गल्फ क्लबबाट १५, त्रिभुवन आर्मी गल्फ क्लबाट ५, पोखराबाट ३ र धरानबाट २ खेलाडीलाई क्वालिफायरमार्फत छनोट गर्ने आचार्यले जानकारी दिए।
उनले कर्पोरेटका साथै अन्य खेलाडीहरुलाई पनि सहभागिता गराएर प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने बताए।
विश्वभर हुने छनोटको विजेताहरुले टर्कीमा हुने ग्राण्ड फाइनल खेल्न पाउनेछन्। र त्यसको विनरले प्रो-एम अन्तर्गत विश्वकपमा उत्कृष्ट प्रोफेसनल गल्फरसँग खेल्ने मौका पाउनेछन्।
टर्कीस एअरलाइन्सले टर्किस एअरलाइन्स ओपन युरोपियन टुर टुर्नामेन्ट र टर्किस एअरलाइन्स च्यालेन्ज टुर जस्ता प्रतियोगिता पनि गर्दै आएको छ।