
काठमाडौैं: अभिनेता अनुप बिक्रम शाहीले अधिकांश फिल्ममा नकारात्मक भूमिकामा अभिनय गरेका छन्। दर्शकले उनको भिलेन रुपलाई पनि रुचाएका छन्।
पछिल्लो समय अनुप लिड भूमिकामा पनि देखिन थालेका छन्। उनको लिड भूमिका रहेको पछिल्लो फिल्म 'जय शम्भु' र 'पुरानो बुलेट' हुन्। 'जय शम्भु'मा उनले वर्षा सिवाकोटीसँग स्क्रिन सेयर गरेका थिए। दुवै फिल्मले बक्स अफिसमा राम्रो छाप बनाएन।
उनको लिड भूमिका रहेको अर्को फिल्म हो, 'कमलेको बिहे'।
प्रदर्शनको तयारीमा रहेको 'कप्स'मा पनि उनी लिड भूमिकामा देखिएका छन्। निर्माण टिमले हालै फिल्मको ट्रेलरसमेत सार्वजनिक गरेको थियो। फिल्मबाट उनी आशावादी छन्। 'कप्स'बाट उनले दर्शकको साथ कत्तिको पाउलान्? त्यो त फिल्म प्रदर्शनपछि नै थाह हुनेछ। फिल्म भने आगामी जेठ १७ गतेदेखि प्रदर्शनमा आउनेछ।
सम्राट सापकोटा निर्देशित फिल्मामा अनुपसँगै अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ। आर्या मूभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायाँकन र विपिन मल्लको सम्पादन छ।