
सुर्खेत : समूह चरणको अन्तिम खेलमा मध्य पश्चिम क्रिकेट क्लबलाई फराकिलो रनअन्तरले पराजित गर्दै विभागी टोली त्रिभुवन आर्मी कर्णाली प्रिमियर लिग (केपीएल २) को सेमिफाइनलमा प्रवेश गरेको छ।
सुर्खेतमा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको समूह बी अन्तिम खेलमा आर्मीले मध्यपश्चिमलाई १०७ रनले पराजित गरेको हो।
आर्मीको जितमा राजेश पुलामी मगर र हरि बहादुर चौहानले अर्धशतक प्रहार गर्दा कुशल मल्ले ४ विकेट लिए।
यसअघि आर्मीले पहिलो खेल जितेपनि दोस्रो खेलमा कर्णाली ११ सँग पराजित भएको थियो। दोस्रो जितपछि आर्मी समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।
यसअघि नै लगातार ३ खेल जितेको आयोजक टोलीले समूह विजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
कालिन्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो। उसका राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए।
राजेशले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडे।
मध्यपश्चिमको बलिंगमा अमित तामाङको नाममा २ विकेट रह्यो।
जवाफमा १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा ७१ रनमा समेटिन पुग्यो। उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०-१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आर्मीको बलिंगमा कुशल मल्लले सर्वाधिक ४ विकेट हात पारे। यस्तै सुसन भारी र साहब आलमको नाममा समान २-२ विकेट रह्यो।
खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए।
यस्तै मंगलबारै भएको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ।