PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तातोपानी नाका एक महिनाभित्र सञ्चालनमा आउँदै, अन्य तीन नाकाका लागि पहल



विधुर ढकाल

तातोपानी नाका एक महिनाभित्र सञ्चालनमा आउँदै, अन्य तीन नाकाका लागि पहल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो राजकीय भ्रमणलाई छोट्याएर स्वदेश फर्किएकी छिन्। भोलिमात्र स्वदेश फर्किने कार्यक्रम रहेको भए पनि राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगाडि नै स्वदेश फर्किएकी हुन्।

बेइजिङमा आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुगेकी भण्डारी मंगलवार चीनको स्वशासित क्षेत्र तिब्बत आइपुगेकी थिइन्।

तिब्बतमा राष्ट्रपति भण्डारीसँग चिनियाँ कम्युनिस्ट पार्टी तथा तिब्बत स्वशासित क्षेत्रका सचिव उ यिङचेइले शिष्टाचार भेट गरेका थिए।

भेटका क्रममा दुई देशबीच सीमा नाका खोल्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा तातोपानी नाका पुन: सञ्चालनको तयारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

राष्ट्रपति भण्डारीले दुई देशबीचको महत्त्वपूर्ण नाका तातोपानी नाका सञ्चालन गर्न लागेको भन्दै तिब्बत सरकारप्रति धन्यवाद दिएकी थिइन्। साथै राष्ट्रपति भण्डारीले अन्य नाका सञ्चालनको विषयमा कुरा उठाएकी थिइन्।

नेपाल चिनियाँ राष्ट्रपति सि जिङपिङले अगाडि सारेको बीआरआईमा सहभागी भएको र दुई देशबीच पारवहान सन्धीको प्रोटोकलमा हस्ताक्षर भइसकेको अवस्थामा थप नाका सञ्चालन गर्नु आवश्यक भएको भण्डारीले बताएकी थिइन्।

'तातोपानी नाका मे महिनामै सञ्चालन गर्ने सहमति भएको छ। यसका साथसाथै अन्य नाका सञ्चालन गर्नुपर्ने आवश्यकताको विषयमा पनि छलफल भएको छ,' वार्तामा सहभागी मन्त्री ज्ञवालीले भने।

भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीच भएको पारवहान सम्झौताको प्रोटोकलमा हस्ताक्षरसँगै यसको कार्यान्वयनका लागि कोराला-लिची, हिल्सा-बुराङ र किमाथांका छेन्ताङ नाका सञ्चालनको आवश्यकता रहेको बताएकी थिइन्।

सचिव उले दुई राष्ट्रपतिबीचको भेटमा भएका सहमति कार्यान्वयनका लागि तिब्बत सरकार प्रतिवद्ध रहेको र तिब्बत र नेपालबीच रेल सम्पर्क जोड्ने गरी काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। साथै उनले उनले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिने बताएका थिए।

दुई राष्ट्रपतिबीचको द्वीपक्षीय भेटवार्तापछि नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्ने विषयमा सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell