
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा प्रवेश गरेका छन्। गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन्।
अन्तर्राष्ट्रिय श्रमिक मजदूर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
वातावरणमैत्री हरियो रङले रङ्ग्याइएकाले उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछिमात्रै सर्ने बताइएको छ।