
सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल-२) अन्तर्गत समूह चरणको अन्तिम खेलमा विभागीय टोली एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गरेको छ।
लगातार तीन खेल जितेको एपीएफ समूह बी को विजेताको रुपमा सेमिफाइनल पुगेको छ। एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गरेको हो।
यस खेलपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए बाट एपीएफ र न्यू हवराइजन तथा समूह बी बाट आयोजक कर्णाली ११ र आर्मीले सेमिफाइनलमा स्थान बनाएका छन्।
अब पहिलो सेमीफाइनलमा कर्णाली-११ र न्यु होराइजनले प्रतिस्पर्धा गर्ने छन् भने दोश्रो सेमीफाइनल दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीबीच हुनेछ।
कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाए थियो। एपीएफका सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रन योगदान दिए। महेन्द्रनगर क्रिकेट एकेडेमीका बलर सन्तोष भट्ट र आकाश चन्दले समान ३ तथा बिक्रम ठगुन्नाले २ विकेट लिए।
१४४ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर ब्याटिङ गरेपनि ८ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। सन्तोष भट्टले ५० रन बनाए पनि महेन्द्रनगर जितसम्म पुग्न सकेन। भट्टले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेमन्त कार्कीले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
महेन्द्रनगरलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफ बलर कमल सिंह ऐरीले सर्वाधिक ३ तथा भुवन कार्कीले २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।
समूहचरण पछि अंकतालिका: