PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकता : हलो कहाँ अड्कियो?



बीपी साह

डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकता : हलो कहाँ अड्कियो?

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच दोस्रो पटक एकीकरणको छलफल अगाडि बढेको छ।

यसअघि स्थानीय तहको निर्वाचनताका पनि फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर, नेतृत्वमा सहमति नहुँदा रोकिएको थियो।

त्यसबेलाको विवाद अहिले पनि कायमै छ तर एकीकरण अन्तिम रुपमा गएको भन्ने हल्ला भने जारी छ।

के भएको थियो त्यसबेला?

फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरणका लागि पार्टीको सैद्धान्तिक पक्ष र विधानको खाकामा समेत सहमति भइसकेको थियो। करीब १० प्रतिशत विषयमात्र सहमति हुन बाँकी थियो।

उपेन्द्र यादवलाई अध्यक्ष स्वीकार गर्ने विषय नयाँ शक्तिमा राख्दा पार्टी पङ्तिमा ठूलो असन्तुष्टि देखिएको थियो।

अर्कोतिर उपेन्द्र यादव पनि भट्टराईभन्दा तलको पद लिएर जाने अवस्थामा थिएनन्। भर्खरै उनी तेस्रो मधेश आन्दोलनबाट आएका थिए।

भट्टराईको टीमले उपेन्द्र यादवलाई अध्यक्ष अस्वीकार गर्दा र उपेन्द्र यादव दोस्रो वरियातमा रहन नमान्दा एकीकरण अन्तिम चरणमा रोकिएको थियो।

अहिले के हुँदैछ?

नयाँ शक्ति पार्टी नेपालले विभिन्न पक्षसँग पार्टी एकीकरणको प्रयास केही महिनादेखि थालेको छ। जसक्रममा नयाँ शक्तिले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसँग पनि छलफल गरेको छ।

राजपासँग खासै उपलब्धिमूलक छलफल हुन नसकेपछि नयाँ शक्ति र फोरमबीच पछिल्लो पटक छलफल बाक्लिएको छ।

यसअघि भएको एकीकरणको प्रयासमा भएका सहमति र असहमतिका विषयमा छलफल चल्दैछ।

त्यसबेला तयार पारिएको विधान र सैद्धान्तिक पक्षमा छलफल जारी छ। तर, निष्कर्षमा भने पुगिसकेको छैन।

फोरम नेपालका महासचिव एवं वार्ता समिति सदस्य रामसहाय प्रसाद यादवले पहिलोपोस्टसँग भने, ‘वार्ता भएको हो। तर मिडियामा आएको जस्तो एकीकरण अन्तिम चरणमा पुगेको छैन। छलफल जारी छ।’

अर्को तर्फ नयाँ शक्ति पार्टीका प्रवक्ता एवं वार्ता समिति सदस्य प्रशान्त सिंहका अनुसार एकीकरणको छलफल जारी छ। उनका अनुसार अहिले पनि धेरै विषयमा सहमति हुन बाँकी छ।

दुवै दलको नियमति बैठकका लागि केन्द्रीय समिति बोलाइएको छ। उक्त बैठकमा सहमति भएका विषयहरु राखिने तयारी रहेको छ। त्यसअघि एकीकरण अन्तिम चरणमा पुगेको खण्डमा अनुमोदन पनि हुन सक्ने छ तर अहिलेकै अवस्थामा त्यो सम्भव देखिएको छैन।

के फोरम सरकारबाट बाहिरिन्छ?

फोरम र नयाँ शक्तिबीचको एकीकरणको छलफलमा सरकारमा सहभागिता पनि एउटा महत्वपूर्ण विषय हो। नयाँ शक्ति पार्टीका वार्ता समिति सदस्यहरुले फोरम नेपालले सरकार छोड्न पर्ने कुरा अगाडि सारेका छन्।

सरकारमा रहेकै अवस्थामा पार्टी एकीकरण भए नकारात्मक सन्देश जाने भएकाले फोरमले सरकार छोड्नु पर्ने नयाँ शक्तिको अडान छ।

अहिलेको सरकार आलोचित भइसकेकोले सरकार छोड्नुपर्ने उनीहरुको तर्क छ।

यस विषयमा फोरम नेपालका नेताहरुले सहमति जनाइसकेका छैनन्। आफै संलग्न सरकारबाट उपेन्द्र यादव रुष्ट छन् तर सरकार छोड्ने निर्णयमा भने पुगेका छैनन्।

हुनत् राजपासँग फोरमको एकीकरणको चर्चामा पनि सरकारको विषय नै बाधक भएको थियो। राजपाका नेताहरुले पनि फोरमलाई सरकार छोडेर एकीकरण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।

तर, फोरम अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘निशर्त एकीकरण हुनुपर्छ। पार्टी एकीकरण भइसकेपछि सरकारमा रहने कि नरहने भन्नेको निर्णय गर्नुपर्छ।’

त्यसपछि राजपा र फोरमको एकीकरणबारे छलफल अगाडि बढेको छैन।

कार्यकारीमा विवाद

फोरम र नयाँ शक्तिबीच जारी वार्तामा भट्टराईलाई अध्यक्ष स्वीकार गर्न उपेन्द्र यादव तयार भएका छन्।

भट्टराई अध्यक्ष र कार्यकारी अध्यक्षका रुपमा उपेन्द्र यादव रहनेसम्मको सहमति भएको छ।

तर, नयाँ शक्ति पक्षले बाबुरामलाई अध्यक्षसहित कार्यकारीमा दुवै जना रहनु पर्ने अडान राखेको छ।

‘बाबुराम अध्यक्ष र कार्यकारीमा पनि समान अधिकार हुनुपर्ने हाम्रो पक्षको सहमति रहेको छ,’ नयाँ शक्तिका वार्ता समिति एक सदस्यले भने, ‘तर, उहाँहरुले बाबुरामलाई सेरेमोनियल अध्यक्ष बनाउने ठान्नु भएको छ। यस विषयमा कुरा मिलेको छैन।’

अरु अध्यक्ष थप्ने कि नाई?

फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकृत विधानका विषयमा पनि छलफल अगाडि बढेको छ। जसमा अन्य पक्षहरु पार्टीमा मिल्न आएको खण्डमा के गर्ने भन्ने विवाद रहेको छ।

फोरम पक्षले अहिलेकै यथास्थितिको मोडल राख्ने पक्षमा छन्।

तर, बाबुराम पक्ष कुनै पार्टीबाट अध्यक्ष वा वरिष्ठ नेता प्रवेश गरेको खण्डमा त्यसलाई सोही बमोजिमको पद दिनु पर्ने पक्षमा छन्।

अर्थात्, बाबुराम पक्षले अन्य पार्टीसँग एकीकरण गर्दा अध्यक्षको संख्या बढाउन सक्ने व्यवस्था गर्न माग गरेको छ। तर, यादव पक्ष यस विषयमा सहमतिमा पुग्न सकेको छैन।

एकीकरणका लागि उपेन्द्र यादव किन तम्सिए?

संघीय सरकारमा उपेन्द्र यादवको अवस्था सोचेजस्तो छैन। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट यादव असन्तुष्ट छन्।

यस्तै अवस्थामा चुनावी साझेदार अर्को मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल सरकारबाट समर्थन फिर्ता लिएर सरकारविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएको छ।

राजपाले उपेन्द्र यादव सत्तामुखी भएको भन्दै पनि आएको छ।

यस्तो अवस्थामै स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउत जनमत पार्टी गठन गरेर मैदानमा आएका छन्।

राजपाभन्दा पनि सीके राउतको पार्टीको चर्चा चलेपछि उपेन्द्र यादव बाबुराम भट्टराईसँग नजिकिएका हुन्।

भट्टराई प्रधानमन्त्री भइसकेको र छवि पनि राम्रो भएकाले यादवले अध्यक्ष स्वीकार गरी सीके राउतको पार्टीलाई चुनौती दिने पक्षमा देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell