काठमाडौँ : सरकारले राष्ट्रिय क्रिकेट टोली, १२औँ साग (फुटबल)को स्वर्ण विजेता यू-२३ टोली र बडिबिल्डिङका वर्ल्ड च्याम्पियन महेश्वर महर्जनलाई बिहीवार नगदसहित सम्मान गरेको छ।
गत माघ २५ गते भएको मन्त्रीपरिषद्को निर्णयअनुसार आज सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै तीन खेलका खेलाडी र अफिसियललाई नगद पुरस्का प्रदान गरेको हो।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनारले तीन खेलका गरी कूल ४२ खेलाडी/अफिसियललाई नगद चेक प्रदान गरेका हुन्।
जसअन्तर्गत माघमा युएई विरुद्धको ओडिआई र टी २०आई जित्ने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई ५-५ लाख प्रदान गरियो। यस्तै प्रशिक्षकलाई ३ लाख तथा ब्याटिङ प्रशिक्षक, म्यानेजर, फिजियो र ट्रेनरलाई २-२ लाख प्रदान गरेको हो।
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण के.सी, वसन्त रेग्मी, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, प्रदिप ऐरी, दीपेन्द्र ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनाश बोहरा, रोहितकुमार पौडेल र मोहम्मद अरिफ सेखले ५-५ लाख पाए भने
मुख्य प्रशिक्षक जगत टमाटाले ३ लाख तथा ब्याटिङ प्रशिक्षक उमेश पट्वाल, फिजियो दिनेश भट्ट, सहायक प्रशिक्षक सुवास पात्रो र टोली व्यवस्थापक रमन शिवाकोटीलाई २-२ लाख पाए।
३ वर्षपछि बाँकी पुरस्कार पाए फुटबलरले
सन् २०१६ मा भारतमा भएको १२१औँ साग अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेका यू-२३ टिमले तीन वर्षपछि बाँकी रकम प्राप्त गरेका छन्। स्वर्ण जित्ने टोलीलाई सरकारले नगद ५ लाख दिने घोषणा गरेको थियोर यसअघि २ लाख मात्र दिएको थियो।
आज सरकारले २० फुटबल खेलाडीलाई बाँकी रहेको ३-३ लाख प्रदान गरेको हो। विकेश कुथु, एलान न्यौपाने, अमृत चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मानबहादुर तामाङ, जगजीत श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगर ले ३-३ लाख पाए।
नेपालले सागमा स्वर्ण जित्दा प्रधानमन्त्री केपी ओली थिए र त्यतिबेला सरकारले ५ लाख घोषणा गरेपनि पुरा रकम दिन सकेको थिए। अहिले उनै ओली सरकारको प्रधानमन्त्री भएपछि खेलाडीले बाँकी रकम पाएका हुन्।
महेश्वरलाई ५ लाख
यसैगरी सरकारले वर्ल्ड बडिबिल्डिङमा स्वर्ण एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनशीपमा नेपालका लागि स्वर्णपदक जितेका बडीबिल्डर महेश्वर महर्जनलाई पनि सरकारले नगद ५ लाख प्रदान गरेको छ।
महेश्वरले थाइल्याण्डको चियाङमाइमा पुस १ गते भएको १०औँ वर्ल्ड बडिबिल्डिङमा स्वर्ण एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनशीपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।
वर्ल्ड बडिबिल्डिङमा स्वर्ण एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनशीपमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन्। महेश्वर एसियाली बडिबिल्डिङमा पनि स्वर्ण जितेका थिए।