काठमाडौँ : नेपालको यू-२३ राष्ट्रिय टोलीले १२औँ सागमा स्वर्ण जितेको ३ वर्षपछि सरकारबाट घोषित नगद पुरस्कार प्राप्त गरेका छन्।
बिहीवार युवा तथा खेलकुद मन्त्रालयले सन् २०१६ मा भारतको गुहावटीमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको टोलीलाई यसअघि घोषित पुरस्कारको बाँकी रकम प्रदान गरेको हो।
२०७३ सालमा केपी शेर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले त्यसबेला सागमा स्वर्ण जित्नेलाई ५-५ लाख दिने घोषणा गरेको थियो। व्यक्तिगत विधामा स्वर्ण जितेका जुडोका फुपूल्याहमु खत्री र उसुकी निमा घर्ती मगरले त्यसबेलै ५-५ लाख पाएका थिए।
तर फुटबल टिमका खेलाडीहरुले भने २-२ लाख मात्र पाएका थिए। सरकारले प्राविधिक कारणले अरु ३ लाख भने दिन नसकेको बताएको थियो।
उक्त २ लाख दिएको २ वर्ष ९ महिनापछि (३३) महिनापछि २० फुटबल खेलाडीले आज बाँकी नगद रकम पाएका हुन्। सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयको कार्यकक्षमा भएको कार्यक्रममा खेलकुद मन्त्री जगतबाहदुर सुनारले खेलाडीलाई ३-३ लाख नगदको चेक प्रदान गरे।
अहिले त्यस टिममा रहेका अधिकांश खेलाडी काठमाडौँ बाहिर रहेकाले सम्मान कार्यक्रममा भने ४ खेलाडी मात्र थिए। कप्तान विराज महर्जनसहित १६ खेलाडी भने व्यवस्तताका कारण उपस्थित हुन सकेनन्।
गोलकिपर विकेश कुथु र अमृत चौधरी अनी डिफेण्डर मान बहादुर तामाङ र फरवार्ड रनज्न विष्टले आफै चेक बुझे। बाँकी खेलाडीमध्ये कोही काठमाडौँ बाहिर गोल्डकप खेलिरहेका छन् भने कोही देश बाहिर छन्। उक्त टिममा रहेका केही खेलाडी मनाङ मर्स्याङ्दी क्लबमा
सँगै अहिले भारतमा छ।
बाँकी खेलाडीको रकम अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुझे। नेपालले सागमा स्वर्ण जित्दा नरेन्द्र श्रेष्ठ अध्यक्ष थिए।
सरकारले नगद सम्मान गरेपछि फुटबल टिमका गोलकिर विकेश कुथुले यस प्रकारको सम्मानले खेलाडीमा जोश र हौसला मिल्ने बताए। 'यो हाम्रो लागि धेरै हो। यस्तो सम्मानले थप राम्रो खेल्न हौसला दिन्छ। साथै अझै धेरै नतिजा ल्याउन प्रेरित गर्छ।' कुथुले भने।
यस्तै सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडी नगद ५-५ लाख प्रदान गरेको छ। यस्तै बडिबिल्डर महेश्वर महर्जनलाई पनि गनद ५ लाख प्रदान गरेको छ।