स्वास्थ्य मन्त्रालयले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै भन्यो— ' नेपालमै पहिलोपटक बर्ड फ्लुको (इन्फ्लुएन्जा ए (एच ५ एन १) संक्रमणबाट एक २१ वर्षीय युवकको मृत्यु भयो।'
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो जानकारी दिइरहँदा बारम्बार भनिरहेकी थिइन्, 'अप्रत्याशित घटना। हामी स्तब्ध भयौँ। यो अत्यन्तै संवेदनशील घटना हो।'
उनले पत्रकारहरुलाई लक्षित गर्दै भनिरहेकी थिइन्,— 'यो 'सेन्सेसनल न्यूज' होइन। विश्वकै चासो रहेको घटना हो। 'बर्ड फ्लु'बाट कसरी बच्ने जनताहरुलाई संवेदनशील भएर सूचना दिनुस्।'
स्वास्थ्य मन्त्रालयले अत्यन्तै संवेदनशील र स्तब्ध हुने घटना भनेर अरुलाई जिम्मेवारी सम्झाइरहँदा भने आफ्नो जिम्मेवारी बिर्सिरहेको थियो। किनकि, गत चैत १५ गते भएको घटना एक महिनापछि सार्वजनिक गरेको थियो।
अब प्रश्न उठ्छ — 'यति संवेदनशील घटना हुँदा पनि किन एक महिनासम्म जानकारी दिइएन?'
'के यो एक महिनाको बीचमा अरु मानिसलाई बर्ड फ्लु सर्ने सम्भावना थिएन ? '
'जनताको स्वास्थ्यमा किन गम्भीर देखिएन स्वास्थ्य मन्त्रालय?'
'मानिस मरेको एक महिनापछि जानकारी दिएर जनताहरुलाई सचेत हुन किन आग्रह गरिरहेको छ स्वास्थ्य मन्त्रालय?'
यसमा सरासर स्वास्थ्य मन्त्रालयले गम्भीर लापरवाही गरेको देखिन्छ।
किनकि, यदि यो एक महिनाभित्र अरु मानिसहरुलाई बर्ड फ्लुको संकेत देखिएको भए उपचारमा ध्यान दिने थिएनन्।
मौसमी रुघाखोकी भनेर बेवास्ता गर्दा अरु गम्भीर समस्या देखिन सक्थ्यो। चिकित्सककै भाषामा भन्नुपर्दा अरु मानिसमा बर्ड फ्लु देखिएर महामारी फैलन सक्थ्यो।
किन यस्तो लापरवाही?
'बर्ड फ्लुको लक्षण देखिएर उपचार सुरु गरेको चार दिनमा उनी मरे। उनलाई बर्ड फ्लु भएको भन्ने कुरामा 'कन्फर्म' भए पनि विस्तृत थाहा पाउन जापानको रिपोर्ट कुर्नु पर्थ्यो' स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले जवाफ दिए— 'भाइरस र जेनेटिक थाहा पाउन जापानको रिपोर्ट कुर्नुको विकल्प थिएन। त्यसैले एक महिना ढिलो भयो।'
समयमा सूचना नदिएर गम्भीर लापरवाही गरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा अर्को हेलचक्र्याइँ गर्यो। एक महिनाअघि मृत्यु भएका व्यक्ति कुन क्षेत्रका थिए भनेर जानकारी नै दिइएन।
पत्रकारहरुले बारम्बार सोधिरहे, तर जवाफ आएन।
किन त?
स्वास्थ्य सचिव पुष्पा चौधरीले 'रेडिमेड' जवाफ दिइन्,—'व्यक्तिको गोपनीयताको सम्मान गर्न ?
पत्रकारहरुले फेरि सोधे — ' ती व्यक्ति कुखुरा फार्मका थिए?'
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर विवेककुमार लालले जवाफ दिए, — 'हैन, थिएनन्।'
'मासु पसलका सञ्चालक थिए त ?'
फेरि जवाफ आयो — 'हैन, थिएनन्।'
'के कुखुराको मासु खाएका मानिस थिए?'
'हैन थिएनन्?'
'मृत्यु हुने व्यक्ति कुन क्षेत्रका थिए, त्यो बारेमा जानकारी दिइएन भने त मानिसहरु कसरी सचेत हुने? मृत्यु भएका मानिसको क्षेत्र उल्लेख गर्न पाए त्यताका मानिस सचेत हुन्थे नि?'
प्रश्न खस्न नपाउँदै स्वास्थ्य सचिव चौधरी बोलिन्,— 'तपाईँहरु व्यक्ति र क्षेत्रमा जानुभन्दा राष्ट्रियतामा जोड दिनुस्। २०१७ पछि बर्ड फ्लुको कारण मानिसको मृत्यु भएको विश्वमै पहिलोपटक हो। र, त्यो नेपालमा भएको छ। तपाईँहरु यही कुरामा ध्यान दिनुस्, अरु कुरामा जोड नदिनुस्।'
तर, उनको जवाफ ढुक्क हुने किसिमको थिएन। किनकि, उनले बारम्बार भनिरहेकी थिइन्,— 'जनतालाई बर्ड फ्लुबाट सचेत हुन सुसूचित गर्नुस्।'
काठमाडौँमा 'बर्डफ्लु' फैलिएको अवस्थामा कर्णालीमा सचेत भएर के हुन्छ?
कि देशभर बर्डफ्लुको फैलिने संकेत प्राप्त भएको छ?
कुन क्षेत्रको जनता सुसूचित हुने?
जवाफ कोहीबाट आएन।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. लालले ती मृत्यु भएको मानिसको परिवारमा परीक्षण गर्दा पनि कसैमा बर्ड फ्लुको लक्षण नदेखिएको दावी गरे। उनले संगत गरेका आफन्त तथा साथीभाइको परीक्षण गर्दा पनि बर्डफ्लुको संकेत नदेखिएको सुनाए।
डा. लालको जवाफमा सहमति जनाउँदै पशु सेवा विकासका निर्देशक डाक्टर वंशी शर्माले भने, 'अहिले कुनै पनि ठाउँमा बर्डफ्लुबाट डराउनुपर्ने स्थिति छैन। बर्डफ्लुको लक्षण देखिएको र शंका लागेको ठाउँको पशुपंक्षी हामीले नष्ट गरिसकेका छौँ।'
त्यसो भए स्वास्थ्य सचिव चौधरीले सचेत हुन बारम्बार किन भनिरहेकी छिन्। त्यसको स्पष्ट जवाफ कतैबाट नआएकाले उनीहरुको कुरामा तालमेल मिलेको थिएन।
आखिर को र कहाँका थिए त बर्ड फ्लुबाट मृत्यु भएका व्यक्ति? यसको स्पष्ट जवाफ नदिए पनि उनीहरुले केही संकेत भने छोडेका थिए।
राज्यमन्त्री यादवका अनुसार बर्ड फ्लु देखिएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यस्तै लक्षण देखिएका बिरामीहरुको र्याल परीक्षण गर्न ल्याबमा पठाउन सर्कुलर जारी गर्यो।
एक महिनाभित्र विभिन्न अस्पतालबाट बर्ड फ्लुको लक्षण देखिएका २ हजार २ सय ५० भन्दा बढी मानिसका र्याल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइयो। तर, परीक्षण गर्दा कसैमा पनि बर्ड फ्लुको नतिजा देखिएन।
स्वास्थ्य राज्यमन्त्री यादवले भने, 'अझै पनि हामीले विभिन्न अस्पताललाई यस्ता लक्षण देखिएका बिरामीको नमूना जाँचको लागि ल्याबमा पठाउन अनुरोध गरेका छौँ। तर त्यस्तो गम्भीर लक्षण भएको बिरामी कतै पनि आएको छैन।'
त्यस्तै दोस्रो संकेत पशु सेवा विकासका निर्देशक डाक्टर वंशी शर्माले दिए। उनले भने, — 'अहिले कतै पनि पशुपंक्षीमा बर्ड फ्लु देखिएको छैन, देखिएको ठाउँको नष्ट गरिसकेका छौँ। शंका लागेको ठाउँको कतै बाँकी राखेका छैनौँ। भारतबाट आउने पशुपंक्षी पनि हामीले निरीक्षण नगरी छोडेका छैनौँ।'
त्यस्तै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. लालले अर्को संकेत दिए। उनले भने, 'बर्डफ्लुबाट मृत्यु भएका व्यक्ति 'क्रस बोर्डर इन्फेक्सन'को सिकार भएका पनि हुन सक्छन्।'
संकेतहरु यस्तै थिए।
स्वास्थ्य मन्त्रालयका अनुसार बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति कुखुरा फार्म सञ्चालक होइनन्। मासु पसलका सञ्चालक पनि होइनन्। कृषि पेशासँग पनि सम्बन्ध छैन। उनको परिवारमा पनि बर्ड फ्लुको लक्षण देखिएको छैन। २ हजार २ सय ५० जना बर्डफ्लुको लक्षण देखिएको बिरामीको परीक्षण गर्दा पनि कसैमा बर्डफ्लुको संक्रमण भएको भेटिएन।
त्यसो भए कहाँबाट कसरी बर्डफ्लु सर्यो ती युवकलाई ?'
'के ती युवक विदेशबाट आएका थिए त ?'
यी प्रश्नको जवाफ डा लालले दिन सकेनन्। उनले भने,— 'अहिले हामी यो बाहेक अरु जानकारी दिन सक्दैनौँ।'
गत चैतमा काठमाडौँको टोखा, तारकेश्वर नगरपालिका भक्तपुर, हेटौडा र पोखरामा बर्डफ्लु देखिएको थियो। बर्डफ्लु देखिएपछि यी स्थानका कुखुरा नष्ट गरिएका थिए।
‘के ती युवा यिनै बर्डफ्लु संक्रमित क्षेत्रका थिए त?’
डा. लालले मुस्कुराउँदै भने, — 'तपाईँहरुले एकपछि अर्को प्रश्न गरेर मैले झुक्किएर जवाफ दिन्छु भनेर सोध्नुभएको होला। कृपया तपाईँहरु कुरा बुझ्नुस्।'
सम्बन्धित समाचार
२०१७ पछि विश्वमै पहिलो पटक बर्ड फ्लुले नेपालमा लियो ज्यान : के मान्छेबाट मान्छेमा सर्छ?