PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

किन निलम्बनमा परे डिएसपी ढुङ्गेल



पहिलोपोस्ट

किन निलम्बनमा परे डिएसपी ढुङ्गेल

काठमाडौ : नेपाल प्रहरीमा साहसी अफिसरका रूपमा चिनिएका डिएसपी कुमोद ढुङ्गेल निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले बिहीवार डिएसपी ढुङ्गेललाई निलम्बन गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ‘अनुसन्धानका क्रममा निलम्बन गर्नुपर्ने भएकाले निलम्बन गरिएको हो,’ एसएसपी सुवेदीले भने।

गत चैत २६ गते रानीवारीमा भएको एक डकैती प्रकरणमा विकास श्रेष्ठ पक्राउ परेका थिए। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। घटना भएको केही दिन अगाडी डिएसपी ढुङ्गेल र श्रेष्ठ भेटघाट तथा मोबाइल सम्पर्क भएको अनुसन्धानमा खुलेको थियो। उनीहरूको भेटघाट र कुराकानी के विषयमा थियो भन्ने चाहिँ खुल्न सकेको छैन।

चैत २६ गते रानीवारीमा श्रेष्ठ लगायत ६ जनाको समूहले लालेन्द्र शेरचनको घरमा डकैती गरेको थियो। श्रेष्ठसहित उनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड समेत देखाएर गर-गहना र नगद समेत गरी जम्मा पाँच लाख साठी हजार बराबरको धनमाल लुटेका थिए। 

महाशाखाको टोलीले वैसाख ६ गते चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ विक्रम श्रेष्ठ,  र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले प्रयोग गर्ने बा ३ च ७१६४ कलेजी रङको ट्याक्सी र बा २ ज ३०६१ नम्बरको अर्को गाडीसमेत फेला पारेको थियो।

डिएसपी ढुङ्गेल रुपन्देहीमा कार्यरत हुँदा गुन्डा नाइके मनोज पुनको अनुसन्धानदेखी रामेछापमा प्रमुख हुँदा मानव बेचविखनमा संलग्नलाई नियन्त्रणसम्मका कामबाट चर्चा बटुलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell