काठमाडौ: मौसम प्रतिकूल भएपछि शुक्रबार विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएको छ। दिउँसो साढे एक बजेदेखि हेलिकप्टर उडान बन्द गर्नका लागि सबै कम्पनीलाई अलर्ट म्यासेज दिइसकेको हेलिकप्टर समाज नेपालले जनाएको छ।
पश्चिम र दक्षिण भेगमा उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडानमा भने प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। विहान पोखरा, विराटनगर, भद्रपुर, सुर्खेत, नेपालगञ्ज, जनकपुर उडान गरिसकेको बुद्ध एयरले जनाएको छ।
पोखरा, सुर्खेत, नेपालगञ्ज उडान गरेको जहाज काठमाडौं आइसकेको छ भने विराटनगर र भद्रपुर उडान भएको जहाज काठमाडौं प्रवेश गर्न नसकेर विराटनगर डाइभर्ट भएको छ। मौसमका कारणले यति एयरलाइन्स सुर्खेतको सबै उडान ठप्प भएको कम्पनीले जानकारी दिएको छ।कम्पनीको तुम्लिङटार, भरतपुर, जनकपुर, भैरहवा लगायत विभिन्न गन्तब्यमा उडान प्रभावित भएको जनाएको छ। श्री एयरलाइन्सले शुक्रबार विहानदेखि नियमित उडान गर्न नसकेको जनाएको छ।
कम्पनीको नेपालगञ्ज, धनगढी र विराटनगर उडान प्रभावित भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हेलिकप्टर भने विहान लुक्ला-काठमाडौं आइसकेको छ। शुक्रबार विहान उडिसाबाट नेपालको पूर्वी भागमा प्रवेश सुरु गरिसकेको फानीको प्रभाव दिउँसो तीन बजेदेखि देखापर्ने जल तथा मौसम विभागले जनाएको छ।